जानकीको बजेट ९१ करोड बढी

शेयेर गर्नुहोस


टीकापुर ०६ असार /
जानकी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ९१ करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशनको दोस्रो बैठकबाट गाउँपालिका उपाध्यक्ष लालमती कठरियाले आउने आर्थिक वर्ष २०८२/०९३ का लागि ९१ करोड ३७ लाख ७ हजार रुपैयाँ विनियोजन गरेकी हुन । जसमध्ये चालुतर्फ ४५ करोड ८८ लाख ४३ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी पुँजीगत तर्फ ४५ करोड ४८ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाले आउने आर्थिक वर्षमा विनियोजन भएको बजेट मध्ये चालुतर्फ ४३ करोड ५८ लाख ८६ हजार विनियोजन हुँदा वडा समितिलाई एक करोड तीन लाख ६ हजार रुपैयाँ विनियोजन भएको छ भने विषयगत शाखालाई एक करोड २६ लाख ५१ हजार रुपैयाँ छुट्याइएको छ । त्यसैगरी पुँजीगततर्फ गाउँपालिकालाई ४३ करोड ८१ लाख ७० हजार रुपैयाँ छुट्याइएको छ भने वडा कार्यालयलाई एक करोड ६६ लाख ९४ हजार विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतमा तीन करोड १६ लाख ३१ हजार दुई सय ५० रुपैयाँ अनुमान गरेको छ । त्यसैगरी संघीय समानिकरण अनुदान बापत १३ करोड ८५ लाख, संघीय राजश्व बाँडफाँडबाट १२ करोड ३९ लाख ८१ हजार चार सय ४३ रुपैयाँ, संघीय शसर्त अनुदान तर्फ ४६ करोड तीन लाख, संघीय विशेष अनुदान तर्फ ९२ लाख, संघीय समपुरक अनुदान बापत तीन करोड ३३ लाख प्राप्त हुने अनुमान बजेटमा गरिएको छ ।
त्यसैगरी प्रदेश समानीकरण अनुदानबाट एक करोड ३३ लाख २५ हजार, प्रदेश राजश्व बाँडफाँडबाट दुई करोड २३ लाख ९५ हजार, प्रदेश शसर्त अनुदानबाट तीन करोड २० लाख, प्रदेश विशेष अनुदानबाट ७५ लाख, प्रदेश समपुरक अनुदानबाट ४५ लाख आय अनुमान गरिएको छ । त्यो सँगै चालू आर्थिक वर्षको मसान्तसम्म खर्च नभई तीन करोड ७० लाख ७४ हजार तीन सय ७ बचत हुने अनुमान गरिएको छ ।
आउने आर्थिक वर्षमा गाउँपालिकाले प्रशासनिक भवन निर्माणको लागि पाँच करोड बजेट विनियोजन गरेको छ । जुन भवनको ठेक्का भएर सम्झौताको काम समेत भैसकेको छ । त्यसैगरी आउने आर्थिक वर्षमा गाउँपालिकाले शव वहान खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यक्रम अवलम्बन गरी आवश्यक कार्यक्रम सञ्चालनका लागि ३७ लाख २५ हजार बजेट विनियोजन भएको छ भने उत्पादनमा आधारित प्रोत्साहन प्रबन्ध मिलाउन खाद्यान्न बालीको उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि १२ लाख ३० हजार बजेट विनियोजन गरिएको छ ।
चालू आर्थिक वर्षका लागि गाउँपालिकाले ६८ करोड ५६ लाख १८ हजार अनुमानित बजेट विनियोजन गरेकोमा त्यसलाई संशोधन गर्दै ६७ करोड ७ लाख ६८ हजार कायम गरिएको थियो । जसमा चालुतर्फ ४२ करोड १० लाख ८१ हजार तीन सय एक रुपैयाँ र पुँजीगततर्फ २४ करोड ९६ हजार ८६ हजार ६ सय ९९ रुपैयाँ रहेको थियो । त्यसमध्ये हालसम्मको वित्तीय प्रगति ६३ दशमलव ६४ प्रतिशत रहेको बताइएको छ ।
उता लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब २० करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ। नगरपालिकाको १५ औं नगर सभाले बजेट ल्याएको हो । सार्वजनिक गरिएको कुल बजेट मध्ये ७६ करोड ५७ लाख रुपैयाँ चालु खर्च तर्फ विनियोजन गरिएको छ भने ४४ करोड ४२ लाख रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *