शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर १८ असार /
नेपाल जेसीसको क्षेत्र घ सम्मेलनका लागि शुक्रवार अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।
नेपाल जेसीसको आयोजना तथा टीकापुर जेसीसको आतिथ्यतामा हुन लागेको क्षेत्र घ सम्मेलनका लागि राष्ट्रिय अध्यक्ष तथा पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल जेसीस वर्ष २०२२ का अध्यक्ष लालमणी भण्डारीले क्षेत्र घ सम्मेलनमा अवसर भन्दा बढी चुनौती रहेको बताएका छन् । उनले सबै पदाधिकारीहरुको साथ सहयोग भएपछि मात्रै सम्मेलनलाई सफलतापुर्बक सम्पन्न गर्न सकिने बताउँदै बाहिरबाट सजिलो देखिए पनि भित्र काम गर्न निकै चुनौतीपूर्ण रहेको बताए ।
“सबैभन्दा ठूलो कुरा आर्थिक हो । आर्थिक भए काम गर्न त्यति कठिन नहोला तर, आर्थिक व्यवस्थापन कताबाट गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ ।” राष्ट्रिय अध्यक्ष भण्डारीले भने, “यस्ता समस्यालाई सुल्झाउँदै अगाडि बढ्न सक्नु नै युवाहरुको पहिचान हो ।” उनले वर्ष २०२२ टीकापुर जेसीसका लागि विशेष वर्ष रहेको बताउँदै आगामी क्षेत्रीय सम्मेलनमा नेपाल जेसीसको आर्थिक मात्रै नभई अन्य सहयोग पनि सधैभरी रहने बताएका छन् ।
यहीँ भदौ २४ र २५ गते हुने क्षेत्र घ सम्मेलनका लागि आवश्यक छलफल र समन्वय भैरहेको बताउँदै टीकापुर जेसीस वर्ष २०२२ का अध्यक्ष टोपप्रकाश विकले सम्मेलनलाई सफल बनाउनको लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरेका छन् । उनले नवलपरासीको गैंडाकोट देखि पश्चिम क्षेत्रका सबै जेसीस शाखाबाट क्षेत्र घ सम्मेलनका लागि युवाहरू टीकापुरमा जम्मा हुने बताउँदै त्यसले व्यावसायिक मात्रै नभई पर्यटनको क्षेत्रमा समेत टेवा पुग्ने बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा नेपाल जेसीसका कार्यकारिणी उपाध्यक्ष अनिल शाह, टीकापुर जेसीसका संस्थापक अध्यक्ष प्राध्यापक डा. जगतबहादुर सिंह रावल, निवर्तमान अध्यक्ष लक्ष्मण थापा लगायतले धारणा राखेका थिए । महासचिव मंगल साउँदले सञ्चालन गरेको कार्यक्रमको स्वागत कार्यकारिणी उपाध्यक्ष रुपक बहादुर बिष्टले गरेका थिए ।