जोशी दम्पतीको खोजीमा जेठी पत्नी र परिवारजन कर्णालीमा

शेयेर गर्नुहोस

धनगढी, १६ साउन । शुक्रवार दिउसो कर्णाली नदीमा स्कारपियो खसेको समाचार आयो । त्यसको केहीबेरपछि दुई जना नदीमा बेपत्ता भएको यकिन भयो । र, त्यसपछि डडेल्धुरा घर भई डोटी बस्दै आएका चन्द्र प्रसाद जोशी पत्नी सहित कर्णाली नदीमा बेपत्ता भएको र उनीहरुका तीन सन्तान गम्भीर घाईते भएको खवर सार्वजनिक भयो । वेपत्ता हुनेको नाम चन्द्र प्रसाद जोशी थियो ।

त्यतिबेलासम्म पनि डडेल्धुरा र धनगढीमा रहेको उनका परिवारजनले वेपत्ता हुनेमा उनी होलान भन्ने ठानेका थिएनन, किनकी घरमा उनको नाम चक्र प्रसाद थियो । तर पछि वेपत्ता हुनेहरुको विस्तृत विवरण सार्वजनिक भएपछि भने डडेल्धुराको भागेश्वर गाउँपालिका ४ बगरकोटमा रहेकी उनकी जेठी पत्नी, दुई छोरा, भाईहरु, यता धनगढीमा रहेका उनको दाईको परिवार शोकमा परिसकेको थियो ।

दिनभरी जोशी दम्पत्तीको खोजी गरेका सशस्त्र प्रहरी,प्रहरी र गोताखोरले राति खोजी कार्य बन्द गर्यो । यता एक दशकभन्दा बढि समय घरपरिवार र आफन्तजनबाट सम्पर्क बिहीन भएका जोशीको खोजीका लागि परिवारजन र आफन्त शुक्रवार साँझ चिसापानी पुगे । एक दशकअघि मसलाको व्यापार गर्ने सिलसिलामा डडेल्धुराबाट डोटीको आदर्शगाउँपालिका पुगेका जोशीको त्यहाँ रुपी भट्टसंग भयो । भट्टसंग माया बसेपछि उनी घरजम गरी त्यतै बसे । त्यसयता उनी परिवारको सम्पर्क थिएनन ।

बिबाहित चन्द्रका उनकी जेठी पत्नीबाट दुई सन्तान थिए । उनको सबैसंग सम्पर्क बिच्छेद भयो । आदर्श गाउँपालिकाको नुवाकोटमा ससुराली भएका चन्द्र ससुराली नजिकै काँडी स्याउलीमा चाउचाउ र मसलाको व्यापार गर्दै आएका थिए । व्यापारका क्रममा उनले सामान ओसार पोसारका लागि एक गाडी खरीद गरे । त्यो गाडी उनी आफै चलाउथे । उनी त्यही गाडी लिएर उपचारका लागि सपरिवार नेपालगञ्ज गएका थिए । उनले धनगढीमा रहेका एक जना आफन्तलाई सपरिवार सहित नेपालगञ्ज गएको मोवाईल मार्फत बताएको आफन्तजनबाट खुलेको छ । तर उनी चिसापानीबाट कर्णालीको तिरैतीर किन कुईने तर्फ लागे खुल्न सकेको छैन । प्रहरीले उनी घुम्न त्यसतर्फ गएको अनुमान गरेको छ ।

चिसापानीबाट तीन किमी अघि पुगेका जोशी बाटो बन्द देखेपछि गाडी व्याक गरेर फर्काउने क्रममा सपरिवार कर्णालीमा खसे । गाडी सडकबाट तीन सय मिटर तल कर्णालीमा खस्यो । तर जोशीका तीन सन्तान भने गाडीबाट उछिट्टिएर सडकबाट सय मिटर तल खसेर गम्भीर घाईते भएको अवस्थामा फेला परे । तीन सन्तानमध्ये दुईको अवस्था गम्भीर छ । ६ वर्षीय छोरीको अचेत छन् । जेठी छोरीले दिएको जानकारी अनुसार प्रहरीले उनीहरु आदर्श गाउँपालिकाको भएको र गाडी व्याक गर्ने क्रममा खसेको खुलेको हो । गाडी नदीमा खस्नेक्रममा भीरमा ठोकिएर टुक्रा टुक्रा भएको थियो ।

गाडीको चालकको सीट र कतिपय भाग उछिट्टिएर भीरमा खसेको अवस्थामा पाईएका छन् । गाडी घट्नास्थल नजिकै कर्णाली नदीमा डुबेको अवस्थामा देखिएपनि सुरक्षाकर्मीहरुले शुक्रवार रातिसम्म निकाल्न सकेनन । सुरक्षाकर्मीले कर्णाली नदीमा गाडीसंगै खसेर वेपत्ता भएका जोशी दम्पत्तीको जीवित उद्दार हुने आस मारिसकेको छ ।

यद्दपि डेढ दशकअघि आफू र आफ्ना सन्तानलाई छोडेर सम्पर्क बिहीन भएका पतिलाई जीवित भेट्ने आस सहित जोशीकी पत्नी छोरा सहित चिसापानी पुगेकी छन् । परिवार र आफन्तजनसंग सम्पर्क बिहीन भएको करीव एक दशकपछि मामाको बारेमा थाह पायौ, जोशीका भाञ्जा भुवन पाण्डेयले भने, त्यो पनि यो अवस्थामा । जोशी दम्पत्ती कर्णालीमा बेपत्ता छन् । उद्दार गरी कोहलपुर पुर्याइएका उनका तीन छोराछोरी कोहलपुर मेडिकल कलेजको शैयामा अचेत अवस्थामा छन् । ( पश्चिम टुडेबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *