शेयेर गर्नुहोस
टीकापुर २२ माघ /
टीकापुर नगरपालिकाको १२ औं नगर सभा अधिवेशन शनिबारबाट सुरु भएको छ ।
नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुको अध्यक्षतामा भएको नगर सभाको उद्घाटन कार्यक्रममा चालू आर्थिक वर्षको हालसम्म भएको कार्य विवरण सार्वजनिक गरिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको माघ १९ गतेसम्मको तथ्यांकअनुसार आर्थिक प्रशासनको तथ्यांकअनुसार कुल बजेटको ३३ प्रतिशत बजेट खर्च गरेको पाइएको छ । जसमा चालू तर्फ ४४ दशमलव ८४ प्रतिशत र पुँजीगत तर्फ १६ दशमलव चार प्रतिशत बजेट खर्च भएको छ ।
नगरपालिकाले एक अर्ब ११ करोड ६६ लाख ३८ हजार ८ सय ३० रुपियाँ २२ पैसाको वार्षिक आयको अनुमान गरेकोमा हालसम्म ६२ करोड ८६ लाख ६३ हजार पाँच सय ८५ रुपैयाँ ७४ पैसा वास्तविक आय प्राप्त भएको छ । जसमध्ये ३३ करोड २२ लाख ४८ हजार ६ सय ८५ रुपैयाँ ९९ पैसा खर्च गरेको छ । नगरपालिकाको राजस्व तर्फ चालू आर्थिक वर्षमा ७ करोड ४४ लाख ७६ हजार पाँच सय ६० रुपैयाँ अनुमान गरिएकोमा हालसम्म तीन करोड एक लाख ६ हजार ६ सय २१ रुपैयाँ तीन पैसा राजस्व संकलन भएको देखिएको छ ।
नगरपालिकामा सञ्चालनमा रहेका भौतिक पुर्वाधार तर्फ एक सय ९० आयोजना मध्ये एक सय २३ आयोजनाको सम्झौता भैसकेको जनएको छ । ४७ आयोजनाको काम सम्पन्न भैसकेको छ । ६६ आयोजनाको सम्झौता हुन बाँकी छ भने चारवटा आयोजनाको संशोधन गरिएको छ । त्यसैगरी वडा स्तरका कार्यक्रमहरु पनि संशोधन भएका छन् । जसमा वडा नं. १ म एउटा, वडा नं. २ मा तीनवटा, वडा नं. ३ मा दुईवटा, वडा नं. ५ मा दुईवटा, वडा नं. ६ मा चारवटा आयोजना संशोधन भएका छन् । त्यस्तै वडा नं. ७ मा तीनवटा, वडा नं. ८ मा र ९ मा एउटा एउटा आयोजना संशोधन भएका छन् । नगरपालिकाको विषयगत शाख अन्तर्गतका ८ आयोजनामा समेत संशोधन गरिएको छ ।
नगर सभाले आन्तरिक बचतबाट वडा स्तरीय आयोजना तथा कार्यक्रम समेत तय गरेको छ । जसअनुसार वडा नं. १ मा १२ आयोजनाको लागि ३० लाख, वडा नं.२ मा चारवटा आयोजनाको लागि २० लाख, वडा नं. ३ मा १० वटा आयोजनाको लागि २० लाख, वडा नं. ४ मा ९ वटा आयोजनाको लागि २० लाख बजेट विनियोजन भएको छ ।
वडा नं.५ मा तीन आयोजनाको लागि २० लाख , वडा नं. ६ मा चारवटा आयोजनाको लागि १५ लाख, वडा नं. ७ मा ११ आयोजनाको लागि २० लाख, वडा नं. ८ मा १० आयोजनामा २० लाख र वडा नं. ९ मा चार आयोजनाको लागि २० लाख गरि एक करोड ८५ लाख बजेट बाडफाड गरिएको छ । त्यस्तै नगरस्तरमा ६१ वटा नयाँ योजना तय गरिएको छ । जसका लागि तीन करोड ६३ लाख ३० हजार बजेट विनियोजन भएको छ । नगर स्तरीय आयोजना र वडा स्तरीय आयोजनाका लागि पाँच करोड ४८ लाख ३० हजार रकम बाडफाड गरिएको छ ।
नगरपालिकाले प्रशासन तर्फको कर्मचारी दरबन्दीको विवरण समेत सार्वजनिक गरेको छ । स्वीकृत दरबन्दी अनुसार एक सय ६८ दरबन्दीमा एक सय ४४ पदपूर्ति भएको छ । रिक्त २४ छ भने ८३ स्थायी, ६१ करारमा नियुक्त भएका छन् । त्यस्तै अस्थायी दरबन्दी अनुसार ६२ मा ६० मा पदपूर्ति भएको छ ।