टीकापुरमा सहकारी कर्जा सूचना प्रणाली संचालनमा

शेयेर गर्नुहोस

जगत कुमारी जैशी, टीकापुर ०३ भदौ /
कैलालीको टीकापुर नगरपालिकामा सहकारी कर्जा सूचना प्रणाली सफ्टवेयर संचालनमा आएको छ ।
सफ्टवेयरको टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख खडक बहादुर शाहले एक कार्यक्रमका बीच उद्दघाटन गर्नुभएको छ । पहिलो चरणमा टीकापुर क्षेत्रमा कार्यालय रहेका सहकारी संस्थाहरुलाई यसमा सहभागि गराइएको सो कर्जा सूचना प्रणालीमा क्रमिक रुपमा पालिकासँग जोडिएका अन्य सहकारी संस्थाहरुलाई जोड्न सकिने गरी त्यसको डिजाइन गरिएको छ । कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका नगर उपप्रमुख शाहले सहकारीसंस्थाबाट ऋण लिने र समयमा ऋण भुक्तानी नगरी सहकारी संस्थाहरुलाई समस्यामा पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नेगरी पालिकाले सूचना प्रणालीको विकास गरिएकोले यसले सहकारी क्षेत्रलाई सुरक्षित क्षेत्रको रुपमा विकास गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । यससँग लामो समयदेखि सहकारी संस्थाको ऋण नतिर्ने वा तिर्न अटेर गर्ने ऋणी सदस्यहरुको पालिकाको वडा स्तरबाट उपलब्ध गराइने विभिन्न खालका सेवा सुविधाबाट बञ्चित गर्ने सम्मका कार्वाही गर्न सकिने बताउनुभयो । ऋण लिएर नतिर्ने ऋणीलाई मात्रै होइन सहकारीको नीति नियममा संचालन नहुने संस्थालाई समेत कार्वाहीको दायरामा ल्याउने गरी नगरपालिका अगाडी बढ्ने शाहको भनाइ रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै कोअपरेटिभ म्यानेजर्स क्लब कैलालीका अध्यक्ष छबिलाल जैशीले टीकापुर नगरपालिकाले सहकारी क्षेत्र सुधारका लागि चालेको महत्वपूणर् तथा नमूना कदमको प्रशंसा गर्नुभयो । नेपालमै नमूना नगरपालिकाको रुपमा नेपाल सरकारले सहकारी ऐन २०७४ मा नै सहकारी कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण लगायतका महत्वपूणर् विषयहरु समावेश भएपनि हालसम्म कार्यान्वयनमा आउन नसकेको अवस्थामा टीकापुर नगरपालिकाले शुरुवात गर्नु स्रहानिय भएको जैशीको टिप्पणी रहेको छ । अब, एकैजना व्यक्तिले झुक्याएर विभिन्न सहकारी संस्थाहरुबाट ऋण लिने प्रवृत्ति पूणर् रुपमा बन्द हुने विश्वास व्यक्त गर्दै जैशीले दोहोरा सदस्यता अन्त्यमा समेत यसले भूमिका खेल्ने बताउनुभयो । त्यसैगरी टीकापुर नगर सहकारी व्यवस्थापक सञ्जाल (प्रस्तावित) का अध्यक्ष कमल बहादुर ठकुल्लाले सहकारीहरुको खराब ऋण घटाउन सूचना केन्द्रले सहयोग गर्ने बताउनुभयो ।
सफ्टवेयर टीकापुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बलिराम चौधरीको प्राविधिक सहयोगमा निर्माण गरिएको हो । कार्यक्रममा सम्बोधन गर्दै वडाध्यक्ष चौधरीले सफ्टवेयर संचालन सम्बन्धि सम्पूणर् जिम्मेवारी सहकारी शाखा प्रमुख नन्द बहादुर केसीलाई हस्तान्तरण गर्नुभएको छ । पालिका स्तरिय म्यानेजर्स क्लबको समन्वयमा टीकापुर नगरपालिकाले नियमन गर्नेगरी उक्त सफ्टवेयर संचालनमा आएको छ । कार्यक्रममा बचत तथा ऋणको कारोबार गर्ने विभिन्न प्रकृतिका ३० वटा सहकारीका व्यवस्थापक, अध्यक्ष तथा ऋण उपसमिती संयोजकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *