तिज आयो तर ब्यापार छैन

शेयेर गर्नुहोस

समाधान समाचार
टीकापुर ३० साउन
/तीज आउन एक हप्ता बाँकी छ । हिन्दू नारीहरुको महान् चाडको रुपमा रहेको हरितालिका तीजको समय नजिकिँदै गए पनि गत वर्षको तुलनामा यस वर्ष कुनै रौनक देखिएको छैन । सुनचाँदी पसलहरुमा व्यापारीहरु ग्राहकको पर्खाइमा देखिएका छन् भने उपभोक्ताहरु सुनको मूल्य घट्छ कि भन्ने आशामा बसिरहेका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण आर्थिक तरलता देखिएको अवस्थामा एकाएक सुनको मूल्य बृद्धि हुँदा व्यापार नै हुन छोडेको टीकापुरका सुनचाँदी व्यवसायीहरुले बताएका छन् । अघिल्लो वर्ष तीजसम्म प्रति तोला ७० हजारभन्दा कममा कारोबार गरेका व्यापारीहरु सुन खरिदका लागि समेत डराउने गरेको बताउँछन् ।
तीजको समयमा सबैभन्दा बढी व्यापार हुने सुनचाँदी पसलहरुमा भीडभाड छैन । व्यापारीहरु ग्राहकको पर्खाइमा भए पनि सुनको भाउ बृद्धि भएपछि ग्राहकहरुले सुन किन्नै छोडेका छन् । कैलाली सुनचाँदी आभुषण व्यवसायी संघ टीकापुरका महासचिव तुला साहुले तीज आए पनि व्यापार शून्य अवस्थामा रहेको बताएका छन् । ‘हाम्रो कमाइ हुने समय नै तीज हो । अहिले सुन किन्नभन्दा बेच्न आउने बढी छन् ।’ साहुले भने, ‘चार महिनाको बन्दाबन्दी र अहिलेको सुनको मूल्यका कारण व्यवसाय नै धरापमा पर्ने देखिएको छ ।’
उनका अनुसार अघिल्लो वर्षको तुलनामा अहिले पाँच प्रतिशत पनि कारोबार भएको छैन । केही ग्राहकहरुले आफ्नै सुन ल्याएर गर–गहना बनाउन आउने भएका कारण थोरै भए पनि राहात महसुस भएको बताउँदै व्यवसायी संघका महासचिव साहुले यही अवस्थामा सुनको मूल्य निरन्तर बृद्धि हुँदै जाने हो भने टीकापुरका अधिकांश सुनचाँदी व्यवसायी बिस्थापित हुन सक्ने बताएका छन् ।
बिहीबार सुनको मूल्य प्रति तोला ९९ हजारमा कारोबार भएको थियो भने चाँदीको प्रति तोला १ हजार ३ सय ९५ मा टीकापुरमा कारोबार भएको साहुुले बताएका छन् । तीजको समयमा महिलाहरुले नयाँ गरगहना किन्ने नेपाली समाजमा एक परम्पराजस्तै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *