शेयेर गर्नुहोस
टीकापुर ०३ असोज /
टीकापुर नगरपालिकाको चालू आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने विषयको टुंगो लागेको छैन ।
नगरपालिकाको भदौ १७ गते बसेको कार्यपालिकाको ६९ औं कार्यपालिका बैठकले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने निर्णय गरेको थियो । उक्त कार्यपालिका बैठक कार्यान्वयनबाट कार्यवाहक नगर प्रमुख नगार्जी पछि हटेपछि बजेट कार्यान्वयनमा झन अन्योलता देखिएको छ ।
कार्यवाहक नगर प्रमुखले बजेट कार्यान्वयनको अख्तियारी दिन नमानेपछि पुनः शुक्रबार कार्यपालिका सदस्यहरुको अनौपचारिक छलफल समेत भएको थियो । उक्त छलफलमा नगार्जीले यथास्थितिमा अख्तियारी दिन नसक्ने भनेपछि छलफल बिना निष्कर्ष टुंगिएको कार्यपालिका सदस्य तथा वडा नं. १ का वडा अध्यक्ष मोहन विकले जानकारी दिएका छन् । “उहाँले कार्यपालिका बैठकमा भएको निर्णय कार्यान्वयन गर्न सकिँदैन भन्नुभयो ।” वडा अध्यक्ष विकले भने, “त्यसपछि छलफलले अगाडि बढ्न सकेन । छलफल निष्कर्ष बिहिन भयो ।”
अहिले पुनः कार्यवाहक नगर प्रमुखले पुनः नगर सभा गरेर मात्रै बजेट कार्यान्वयनमा लैजान सक्ने भन्दै पुरानै कुरामा अडिग भएपछि पुनः समस्या देखिने सम्भावना बढेको अध्यक्ष विकको भनाइ छ । “उहाँ पुनः पुरानै कुरामा फर्किनु भएको छ । यसबाट निकास निस्कने सम्भावना कम छ ।” उनले भने, “बजेट कार्यान्वयन नहुने स्थिति बन्यो भने पुनः सबै वडा अध्यक्ष एकपटक बसेर निकास निकाल्ने प्रयास गर्नेछौं ।”
कार्यपालिकाको भदौ १७ गतेको बैठकको निर्णयका आधारमा कार्यवाहक नगर प्रमुखले सामान्य प्रशासन मन्त्रालयमा बजेट कार्यान्वयनको लागि राय पेश गरेका थिए । कानुनी रुपमा आफू उपस्थित नभएको नगर सभाले पारित गरेको बजेट कार्यान्वयनका लागि अख्तियारी दिँदा पछि आउने समस्यालाई मध्यनजर गर्दै मन्त्रालयमा राय पेशको पत्र प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले नै लिएर गएको बताइएको थियो । उक्त रायको जवाफ पनि मन्त्रालयले पठाएको स्रोतको भनाइ छ । मन्त्रालयले कानुन अनुसार गर्न भनेको बताइएको छ ।
कार्यवाहक नगर प्रमुख नगार्जीले बजेटको अख्तियारी दिने विषयमा छलफल भैरहेको बताएका छन् । उनले ६९ औं कार्यपालिका बैठकबाट बजेट कार्यान्वयनको लागि राय माग्ने निर्णय भएअनुसार राय माग भएको उल्लेख गर्दै त्यसैमा छलफल भैरहेको बताए । “मन्त्रालयले राय लेखेर पठाएको छ । त्यसमा छलफल भैरहेको छ ।” उनले भने, “छलफलबाट जुन निष्कर्ष आउँछ, त्यसैअनुरूप अगाडी बढ्छौं ।
नगरपालिका दुई महिनादेखि बजेट विहिनको अवस्थामा छ । नगरपालिका भित्रका कर्मचारीहरुले दुई महिनादेखि तलब पाउम सकेका छैनन् । अन्य प्रशासनिक खर्च उदारोमा चलाउनुपर्ने बाध्यता नगरपालिकालाई रहँदै आएको छ । विशेषगरी कार्यालय प्रयोजनको सामाग्री, इन्धन लगायतको सामान उदारोमा नगरपालिकाले चलाइरहेको छ ।










