शेयेर गर्नुहोस
टीकापुर ३१ भदौ /
नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ ले केन्द्रिय कार्यसमितिले तोकेकै मितिमा अधिवेशनहरु सम्पन्न गर्ने गरी तयारी थालेको छ ।
बी.पी. स्मृति भवन टीकापुरमा मंगलबार आयोजित छलफल कार्यक्रमबाट कैलाली क्षेत्र नं. १ ले पार्टीको केन्द्रिय कार्यतालिका अनुसार नै महाधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको हो । केन्द्रिय कार्यालयले वडा अधिवेशन असोज ३ र ४ गते, गाउँ/नगर अधिवेशन असोज ७ र प्रदेश सभा तथा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
छलफलमा सहभागी क्षेत्र नं. १ का २३ वटै वडाहरुका सभापति, जानकी गाउँ सभापति, जोशीपुर गाउँसभापति र टीकापुर नगर सभापतिले अधिवेशन सहज रुपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै समयमै सम्पन्न हुने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य एवं संविधान सभा सदस्य बुद्धिसागर चौधरीले पार्टीलाई वैधानिक रुपमा सञ्चालन गर्नका लागि अब हुने अविधेशन महत्वपूर्ण हुने बताएका छन् ।
कार्यक्रममा बोल्दै पूर्व महासमिति सदस्य फकिरसिंह कडायतले अधिवेशनलाई पार्टी एकताको अधिवेशन बनाउन सबै एकजुट हुनुपर्ने बताउँदै पार्टी कमजोर भएका कारण लोकतन्त्रमाथिको प्रहार नरोकिएकोले लोकतन्त्रका लागि सबै क्रियाशील सदस्यहरु एकठाउँमा आउनु विकल्प नरहेको बताएका छन् । क्षेत्रीय सभापति प्रकाश शाहले असोज ३ र ४ गते आव्हन गरिएको अधिवेशन नै आधिकारिक अधिवेशन भएको उल्लेख गर्दै सबै वडा सभापति, गाउँ सभापति र नगर सभापतिलाई अधिवेशन सम्पन्न गर्न आग्रह गरेका छन् । शाहको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले व्यक्तिगत तिक्तता त्यागेर पार्टी हितमा लाग्न आग्रह समेत गरेका छन् ।
कार्यक्रममा सबै वडा सभापतिहरुले वडाको अवस्थाबारे जानकारी गराएका थिए भने कार्यक्रममा प्रदेश सभा “क” का सभापति परशुराम महतौ, प्रदेश सभा “ख” का सभापति बलिराम चौधरी, उदयराम अधिकारी, दीपेन्द्र रावल, दीपेन्द्र कठायत लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन नगर सचिव प्रकाश शाहले गरेका थिए । कैलाली क्षेत्र नं. १ मा टीकापुर नगरपालिकाका ९ वटा वडा, जानकी गाउँपालिका ५ वटा वडा, जोशीपुर गाउँपालिकाका ७ वडा र भजनी नगरपालिकाका २ वडा गरी २३ वटा वडा पर्दछन् ।










