शेयेर गर्नुहोस
टीकापुर २१ साउन /
टीकापुर नगरपालिकाले वृक्षरोपणमा फलफुलका विरुवालाई प्राथमिकता दिने भएको छ ।
ग्रीन टीकापुरको परिकल्पना अनुसार टीकापुरलाई सुन्दर र हरियाली बनाउने उद्देश्य अनुसार सार्वजनिक खाली जग्गाहरुको संरक्षण सहित नगरपालिकाले फलफुलका विरुवा रोप्ने काम सुरु गरेको हो । शनिबार नगरपालिका वडा नं. १ को ब्लक नं. (सी)मा १५ प्रजातीका तीन सय फलफुलका विरुवा रोपिएका छन् । सार्वजनिक खाली जग्गामा नगर विकासले घेरवार गरेपछि सो क्षेत्रमा नगरपालिकाको वातावरण तथा सरसफाइ उपशाखाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।
वृक्षरोपण कार्यक्रममा नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले नगरपालिका भित्रको सार्वजनिक जग्गाको संरक्षण गरेर त्यसलाई स्थानीयको रोहबरमा बगैंचाको रुपमा विकास गरिने बताएका छन् । उनले नगरपालिकाको स्रोतसाधनले भ्याएसम्म टोल विकास संस्थाको संरक्षणमा रहने गरी सार्वजनिक जग्गालाई फलफुलको बगैंचाको रुपमा विकास गर्ने बताएका हुन । “प्रत्येक टोल तथा ब्लकमा सार्वजनिक स्पेसहरु छन् । तिनलाई संरक्षण गरेर स्थानीयको निगरानी रहने गरी फलफुलका बगैंचा बनाउँदै जान्छौं ।” नगर प्रमुख थारुले भने, “स्थानीयको साथ चाहिन्छ । हामीले गरेको लगानीलाई मुर्तरुप दिन स्थानीयको पहल आवश्यक छ ।”
उनले गत आर्थिक वर्षमा केही खाली स्पेसलाई घेरवार गर्ने काम भएको बताउँदै त्यसमा वृक्षारोपण गरेर हरियाली बनाइने बताएका छन् । नगरपालिकाका वातावरण तथा सरसफाइ उपशाखाका प्रमुख लोकबहादुर बुढाले नगरपालिकाले आगामी दिनमा वृक्षरोपणमा फलफुल मात्रै रोप्ने बताएका छन् । उनले फलफुलको रोप्दा त्यसबाट दोहोरो फाइदा लिन सकिने बताउँदै संरक्षणका लागि भने टोल विकास संस्था जिम्मेवार हुनुपर्ने बताएका छन् ।