शेयेर गर्नुहोस
टीकापुर १८ मंसिर /
टीकापुरमा निर्माण भैरहेको वर्षाते पानी व्यवस्थापन नाला (ड्रेन) मुनिको खानेपानीको पाइप हटाइने भएको छ ।
ढल निकासको काम गर्दै आएको निर्माण कम्पनीले खानेपानीको पाइप माथी नै नाली निर्माण गर्न थालेको भन्दै बिरोध भएपछि खानेपानीले पाइप नालीको पछाडि फुटफात तिर सार्न थालेको हो । टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख चन्द्रप्रकाश सोडारीले पाइप लाइन सार्ने काम सुरु गरिएको बताएका छन् । उनले खानेपानीको पाइप माथी परेको ठाउँको पाइप लाइन नालीको पछाडि फुटफातमा सार्न थालिएको बताएका छन् । “खासै समस्या त पर्ने अवस्था थिएन तर पनि हामिले पाइपलाई नाली भित्र नपर्ने गरेर सार्ने सुरु गरिएको छ ।” सोडारीले भने, “पाइप लाइनमा कुनै समस्या आएको खण्डमा समस्या हुन सक्ने भएकाले पाइपलाइन सार्नुको विकल्प थिएन ।”
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, शहरी खानेपानी आयोजना व्यवस्थापन कार्यालयले निर्माणको अनुगमन गरिरहेको छ । वर्षाते पानी व्यवस्थापनका लागि तुँदी कन्स्ट्रक्सनले नाला निर्माण गरिरहेको छ । निर्माण कम्पनीका इञ्जिनियर उदय पोखरेलले खानेपानीको मुख्य पाइप (डिआइ) भएका कारणले नाला निर्माण हुँदा कुनै समस्या नहुने बताएका थिए । “यो पाइपको आयु लामो हुन्छ, यसबाट पानी वितरण नहुने भएकाले समस्या हुदैनथ्यो ।” पोख्रेलले भने “हामीले दिएको मापदण्ड अनुसार सडकको ३८ मिटर चौडाईमा नाला निर्माण गरिरहेका छौं, त्यो मापदण्ड मिचेर हामीले पनि काम गर्न मिल्दैन ।”