नेपाल प्रवेश गर्दा परिचयपत्र अनिवार्य

शेयेर गर्नुहोस


टीकापुर १८ साउन /
 कैलालीका भारतीय सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेहरुले अनिवार्य रुपमा आधिकारिक परिचय पत्र देखाएर मात्रै प्रवेश गर्न पाउने व्यवस्था लागु गर्ने निर्णय गरेको छ । 
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा आइतबार बसेको अन्तर धार्मिक तथा सामाजिक सद्भाव जिल्ला समन्वय समितिको बैठकले भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेहरुले आधिकारिक परिचय पत्र अनिवार्य देखाएर मात्रै प्रवेश गर्नुपर्ने निर्णय गरेको हो । बैठकले जिल्लाभर धार्मिक तथा सामाजिक सद्भाव सुदृढ बनाउन स्थानीय तहसँग समन्वय गरी उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका तथा वडा तहमा धार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन गर्ने निर्णय समेत गरेको बताइएको छ ।
समुदायमा कुनै व्यक्ति वा संस्थाले अर्को धार्मिक समुदायलाई आँच पुग्ने गरी बोलेर, लेखेर, संकेत गरेर वा सामाजिक सञ्जालमार्फत लाइक, सेयर तथा पोस्ट गरी धार्मिक सद्भाव बिगार्ने गतिविधि गरे तत्काल कानुनी कारबाही अघि बढाइने निर्णय पनि गरिएको छ । कैलाली उद्योग वाणिज्य संघ धनगढीको अगुवाइमा शान्ति, सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न राजनीतिक दल, धार्मिक समुदाय, व्यवसायिक संघ–संस्था, सञ्चारकर्मी, नागरिक समाज तथा सर्वसाधारण नागरिकको सहभागितामा साउन १८ गते आज धनगढीमा ‘नागरिक सद्भाव ऱ्याली’ आयोजना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिएका छन् ।
बैठकले कुनै एक धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने सभा, जुलुस वा याली सकेसम्म नगर्न आग्रह गरेको छ । अपरिहार्य अवस्थामा यस्ता कार्यक्रम गर्दा चर्को ध्वनि उपकरण प्रयोग नगर्न, अर्को धार्मिक समुदायको आस्था र सम्मानमा आँच पुग्ने गतिविधि नगर्न, हातहतियार, लाठी, भाला लगायतका सामग्री प्रयोग वा प्रदर्शन नगर्न तथा सार्वजनिक कार्यक्रम सञ्चालन गर्नुअघि स्थानीय प्रशासनलाई पूर्वसूचना दिई स्वीकृति लिनुपर्ने निर्णय गरिएको छ भने शान्ति–सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरिएको छ ।
तराई–मधेसका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको धार्मिक द्वन्द्व, हिंसा, आगजनी, तोडफोडका घटनाबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कैलालीमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न तीन बुँदे निर्णय गरिएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *