शेयेर गर्नुहोस
टीकापुर १३ पुस/
परियार समाज सशक्तीकरण मञ्चको प्रथम साधारण सभाले लोकबहादुर नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
साधारण सभाले उपाध्यक्षमा शान्ती नेपाली, सचीव पदमसिंह परियार, कोषाध्यक्षमा रुपा परियार चयन भएका छन् । सदस्यमा मीनबहादुर नेपाली, डम्बर तिखातरी, मिठ्ठु दमाई, शोभा नगार्जी, अमृत पाल्पाली, बुदे दमाई, टीकाराम टेलर हुड्के, फिरज दास र कमला दमाई चयन भएका छन् । मञ्चका संस्थापक अध्यक्ष ध्रुव बहादुर परियारको अध्यक्षतामा भएको साधारण सभामा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले २१ औं शताब्दीमा पनि जात र धर्मको कुरा आउनु विडम्बनाको विषय भएको बताएका छन् । उनले आफ्नो जातप्रती आफैले गर्ब गर्न सिक्नुपर्ने बताउँदै राम्रोलाई आत्मसात गर्दै नराम्रोलाई त्याग्दै जानुपर्नेमा जोड दिएका छन् । “आफू सक्षम भएपछि अरुले सहजै थिचोमिचो गर्न सक्दैनन् । त्यसका लागि एकले अर्काको अस्तित्वलाइ स्वीकार गर्न पनि सक्नुपर्छ ।” नगर प्रमुख थारुले भने, “त्यसपछि हाम्रो पहिचान आफै झल्किन्छ । हामीले जातको कारण अपहेलित हुनुपर्दैन ।”
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले उत्पीडित वर्ग, जाती र समुदायको स्तर वृद्धिका लागि यस्ता संस्थाको भुमिका महत्त्वपूर्ण हुने बताएका छन् । वडा अध्यक्ष विकले परियार समाजको नेतृत्व मात्रै नभई समग्र दलित समुदायको नेतृत्व हुनेगरी काम गर्न सुझाव दिएका छन् । संविधानमा उल्लेख भएका कुरालाई कार्यान्वयनमा लैजान नसक्दा आज पनि समाज जहाको त्यहीँ रहेको वडा अध्यक्ष विकले बताएका छन् ।
नगरपालिकाका कार्यपालिका सदस्य रामबहादुर नगार्जीले परियार समाज पछाडि नपरेको बताउँदै पछाडि पारिएको बताएका छन् । उनले कला, सिपमा परियार समाज सबैभन्दा अगाडि रहेको बताउँदै परियार समाज आगामी दिनमा परिवार बनेर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । मञ्चका उपाध्यक्ष रामबहादुर नेपालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन मञ्चका सचीव कैलाशबहादुर नगार्जीले गरेका थिए । कार्यक्रमले मञ्चका लागि महत्त्वपूर्ण योगदान गरेका गोपाल परियार, पदमसिंह परियार, रामबहादुर नगार्जी, मीनबहादुर दमाई र लोकबहादुर नेपालीलाई सम्मान समेत गरेको थियो ।