शेयेर गर्नुहोस
पदमराज जैशी (नानू), भजनी ३१ भदौ /
भजनी नगरपालिका वडा नं. १ गौनहिया स्थित श्री पशुपति सामुदायिक वन उपभोक्ता समितिको १७ औं साधारण सभा आइतबार सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर चौधरीको अध्यक्षतामा भएको साधारण सभा कार्यक्रममा बोल्दै भजनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले सामुदायिक वनले समुदायलाई जीविकोपार्जनका कार्यक्रममा जोड्नुपर्ने बताएका छन् । उनले स्थानीय सरकार र सामुदायिक वनको साझेदारीमा स्थानीयलाई रोजगारी सिर्जना गर्ने काममा लाग्नुपर्नेमा जोड दिएका हुन । “वनले आफ्ना उपभोक्तालाई व्यवसायसँग जोड्ने खालका कार्यक्रमहरु ल्याउनुपर्छ । त्यसमा हामीले गर्नुपर्ने सहयोग हाम्रो क्षेत्रबाट गर्छौं ।” उनले भने, “सामुदायिक वन र स्थानीय सरकारको समन्वय र सहकार्य हुनसक्यो भने धेरै राम्रा कामहरू गर्न सकिनेछ ।” दिनप्रतिदिन वनहरु विनाश हुने क्रम बढेको भन्दै वनको संरक्षण र वृक्षरोपणमा विशेष ध्यान पुर्याउनुपर्ने बताएका छन् ।
वनका अध्यक्ष चौधरीले उपभोक्ता मध्ये गरीब अतिविपन्न १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको बताउँदै ६ जना बिपन्न वर्गलाई तीन महिने सिलाई कटाई तालीम दिइएको बताएका छन् । उनले वनले उपभोक्ताहरुको आवश्यकतालाई मनन गर्दै कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् । कार्यक्रममा स्थानीय कलाकारहरुले सामुदायिक वन सँग सम्बन्धित जनचेतनामूलक प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रमकाे सञ्चालन धर्मेन्द्र विष्टले गरेका थिए । साधारण सभामा सामुदायिक वनले आर्थिक वर्ष २०८०/०८१ को २५ लाख २६ हजार दुई सय तीन रुपैयाँ ९० पैसा बराबरको आयव्यय सार्वजनिक गरेको छ ।