शेयेर गर्नुहोस
टीकापुर २२ साउन /
प्रहरीको काम नागरिकहरूलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु हो ।
प्रहरी प्रशासन जति बढी सक्रिय भयो त्यति नै समुदायमा नागरिकहरूले शान्तिसुरक्षाको महसुस गर्न पाउछन् । त्यसका लागि प्रहरी प्रशासन सक्षम र जागरुक हुनुपर्छ । जुन निकायबाट शान्तिसुरक्षाको प्रत्याभूत नागरिकहरुले गर्ने हो, त्यसैबाट पीडा दिने गतिविधि भयो भने त्यसले समाजमा प्रहरी प्रतिको विश्वास कम्जोर बन्दै जान्छ । आज शान्तिसुरक्षाका दृष्टिले आफुलाई सुरक्षित नदेखेकै कारण टीकापुर साझ ६ बजे नै सुनसान हुन्छ । स्थानीय तहको दोस्रो निर्वाचनको समयमा टीकापुर बजारलाई राती १० बजेसम्म सञ्चालनमा ल्याउने व्यवस्था मिलाउनेहरुका अगाडि आज व्यापारीहरु निरीह बनेका छन् ।
“प्रहरी कार्यालय अगाडिको एउटा चिया पसल समयमा बन्द नगरेको भन्दै प्रहरीले चिया पसल सञ्चालकलाई थुनामा राख्छ भने त्यो समाजमा शान्तिसुरक्षाको महसुस नागरिकहरूले गर्न सक्लान्” पिडित उपेन्द्र साउँद भन्छन्, “मैले जाड रक्सी बिक्रीवितरण गर्ने भएपनि एउटा कुरा हुन्थ्यो । एकाएक बोलाएर एकाएक हतकडी लगाएर थुनामा हाल्ने प्रहरीसँग नागरिकहरुले के विश्वास गर्ने ?”
ईलाका प्रहरी कार्यालय टीकापुरको अगाडि रहेको अछाम होटल एण्ड रेष्टुरेन्टका सञ्चालकलाई राती १० बजेसम्म पसल बन्द नगरेको भन्दै प्रहरीले एक रात थुनामा राखेपछि व्यापारीहरु त्रसित बनेका छन् । एक पक्षले राती अबेरसम्म पसल सञ्चालनका लागि पहल गरिरहँदा प्रहरीले समयमा पसल बन्द नगरेको भन्दै व्यापारीलाई हतकडी लगाउनु उचित नभएको बताएका छन् । “निर्माण कम्पनीले नाली निर्माणका लागि बाहिरको भाग खाली गराउन भनेको थियो । त्यहीँ काम गरिरहेको थिए । डिएसपीले बोलाउनुभयो र हतकडी सहित थुनामा लिएर गालीग्लोज गर्नुभयो ।” साउँदले भने, “यसरी व्यापारीलाई शान्तिसुरक्षा दिने प्रशासनले हातमा हतकडी लगायो भने हामीले कोसँग सुरक्षा माग्ने ?”
यसै विषयमा ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले १० बजेसम्म पनि पसल बन्द नगर्दा थुनामा लिनुपरेको प्रतिक्रिया दिएका छन् । उनले नियम सबैलाई बराबर लाग्ने भन्दै सबैले १० बजे पसल बन्द गर्नुपर्ने भएपछि सो पसल बन्द भएको नदेखेपछि सञ्चालकलाई थुनामा राखेको बताए । उनले त्यसभन्दा अरु कुरा भने गर्न चाहेनन् । पछिल्लो समय शान्तिसुरक्षामा सक्रिय भुमिका नखेलेको भन्दै प्रहरी प्रशासनको आलोचना पनि हुने गरेको छ ।