शेयेर गर्नुहोस
टीकापुर २० साउन/
टीकापुर बजार क्षेत्रका सडकमा देखिएका सामुदायिक चौपायाको व्यवस्थापन गर्ने कार्य सुरु गरिएको छ ।
केही दिन अगाडि मात्रै सामुदायिक चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै समाधान न्युज दैनिकले फोटो समाचार प्रकाशित गरेको केही दिनमै नगरपालिकाले सामुदायिक चौपाया नियन्त्रण गर्न थालेको हो ।
नगरपालिकाको पहलमा नगर प्रहरी, इलाका प्रहरी कार्यालय टीकापुर र टीकापुर गौशालाको सहकार्यमा बजार क्षेत्रबाट झण्डै एक सयभन्दा बढी सामुदायिक पशु चौपाया नियन्त्रणमा लिएर गौशालासम्म पुर्याइएको बताइएको छ ।
सडकमा छाडा पशु बस्ने गरेका कारण सवारी आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै नगरपालिकाले अभियान सञ्चालन गरेको जनाएको छ ।
नगरपालिकाले बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दुर्घटनामुक्त बनाउन यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ ।
साथै वर्षातको समयमा स्थानीयले खेती लगाएर गोरु सडकमा ल्याएर छोड्ने गरेक छन् । त्यसैगरी दुध दिन छोडेका गाईलाई पनि स्थानीयले बजार क्षेत्रमा ल्याएर छोड्ने प्रवृत्ति बढ्दै गएको छ । त्यसरी छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि नगरपालिकामा गौशाला निर्माण गरिएको छ । गौशालाका लागि टीकापुर नगरपालिकाले बर्सेनि १५ देखि २० लाख बजेट विनियोजन गर्दै आएको छ भने जानकी गाउँपालिकाले पनि त्यसैअनुसारको बजेट विनियोजन गर्दै आएको छ ।
चौपाया व्यवस्थापनका लागि बर्सेनि लाखौं खर्च भए पनि व्यवस्थापनमा देखिएको कमजोरीले किसानहरूको अन्न बाली अझै सुरक्षीत हुन सकेको छैन ।










