भलिबलको एक कुशल कमान्डर गुमायौं : डा.रावल

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ३० पुस/

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले राष्ट्रले भलिबल खेलको एक कुशल कमान्डर गुमाएको बताएका छन्  ।

बिहिवार कैलालीको टीकापुरमा नेपाली भलिबलका राष्ट्रिय प्रशिक्षक तथा सशस्त्र प्रहरी एपीएफका महिला टोलिका पुर्व प्रशिक्षक समेत रहेका स्व ज्ञानेन्द्र बहादुर बिष्टको १३ औं दिनको पुण्य तिथिमा टीकापुर युवा क्लबले आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रमलाई सम्बोधन गर्दै डा. रावलले राष्ट्रले नै खेलकुद क्षेत्रको ठूलो सम्पत्ति गुमाएको बताएका हुन । उनले राष्ट्रको पहिचानका लागि खेलकुदको भुमिका महत्त्वपूर्ण रहने बताउँदै त्यसमा स्व बिष्टको योगदानलाई सबैले स्मरण गरिरहने योग्य भएको बताएका छन् । “एपीएफ महिला भलिबल टोलिको प्रमुख प्रशिक्षक भएर तीन पटकसम्म सम्मानित हुने ब्याक्ती स्व बिष्ट नै हुन । अब उनको सपनालाई साकार पार्नको लागि शोकलाई शक्तिमा बदलेर खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्छ ।” डा. रावलले भने , “सुदुरपश्चिम खेलकुदको लागि उर्वर भुमी हो । अहिले पनि जुनसुकै खेलमा सुदुरपश्चिमको प्रतिनिधित्व छ । त्यसलाई जिवन्त राख्नको लागि टीकापुरले त्यसको नेतृत्व गर्न आवश्यक रहेको छ ।”
डा. रावलले टीकापुर क्षेत्रमा कभर्डहल निर्माणका लागि विनियोजन गरिएको रकम समेत जग्गाको अभावले खर्च गर्न नपाएको बताएका छन् । उनले स्थानीय सरकारले जग्गाको उपलब्धतामा देखाएको उदासिनता र आएको बजेटलाई समेत सहिरुपमा खर्च गर्न नसक्दा समस्या ल्याएको बताएका छन् । “केन्द्र सरकारले खेलकुद मैदनको लागि बजेट विनियोजन गर्यो । त्यो बजेट कार्यकर्ता पाल्ने तिर केन्द्रित भयो ।” डा. रावलले भने, “मैदानभित्रकै माटो ल्याएर अगाडि देखिने ठाउँमा हालेर पैसा खाने माध्यम मात्रै बनाइयो । अब त्यो बजेटको एकएक हिसाब स्थानीय सरकारसँग माग्नुपर्छ ।”
टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले स्व बिष्टले टीकापुरमा भलिबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्न लागेको बताउँदै त्यो समपना पूरा नहुँदै टीकापुरले एक खेलकुद क्षेत्रको धरोहर गुमाउन पुगेको बताएका छन् । “टीकापुर खेलकुद क्षेत्रका लागि एकदमै सम्भावना भएको क्षेत्र हो । त्यही सम्भावनामा स्व ज्ञानेन्द्र बहादुर बिष्टको उदय भएको थियो ।” भण्डारीले भने, “त्यो सम्भावनालाई पूरा गर्न नपाउँदै बिष्ट संसारबाट बिदा भएपनि त्यो जिम्मेवारी युवाहरूको काधमा आएको
छ । अब टीकापुरमा खेलकुदका गतिविधिहरु सञ्चालनका लागि युवाहरूले लाग्नुपर्ने देखिएको छ ।”
उनले खेलकुदका लागि बजेट हुँदाहुँदै पनि इच्छाशक्ति नभएकाहरु नेतृत्वमा हुँदा काम हुन नसकेको बताएका छन् । भलिबलका राष्ट्रिय प्रशिक्षक अर्जुन ठकुल्लाले टीकापुरले खेल क्षेत्रमा कुशल खेलाडी र प्रशिक्षकहरु जन्माउन सके पनो संरक्षणको अभावमा सबै खेलाडी ओझेलमा पर्दै गएको बताएका छन् । उनले स्व बिष्ट टीकापुरमा खेल क्षेत्रको विकासका लागि एक अठोट बोकेर टीकापुर पुगेको बताउँदै त्यो अठोट पूरा नहुँदै संसारबाटै बिदा भएको अवस्थामा बिष्टको उद्देश्यलाई पूरा गर्न आफुहरु लागिपर्ने बताएका छन् ।
टीकापुर युवा क्लबका अध्यक्ष तपेन्द्र कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपेन्द्र शाहले गरेका थिए भने सञ्चालन परमानन्द पाण्डेले गरेका थिए । टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १६ मा स्थायी बसोबास गर्दै आएका बिष्टको कोरोना संक्रमणका कारण यहीँ पुस १७ गते उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो । पछिल्लो समयमा बिष्टले टीकापुर भलिबल प्रशिक्षण केन्द्रमा भलिबलको प्रशिक्षण गर्दै आएका थिए ।
गुडिमुन्टे समुहले आयोजना गर्दै आएको राष्ट्रब्यपी खुला पुरुष भलिबल प्रतियोगितालाइ स्व ज्ञानेन्द्र स्मृति राष्ट्रब्यापी खुला भलिबल प्रतियोगिताको रुपमा लैजाने समुहका सल्लाहकार भरत भण्डारीले बताएका छन् । उनले स्व ज्ञानेन्द्र स्मृति राष्ट्रब्यापी खुला पुरुष भलिबल प्रतियोगिता आउँदो फागुन १ गतेदेखि आयोजना गरिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *