शेयेर गर्नुहोस
टीकापुर २० फागुन /
सुदूरपश्चिममा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाई समर्थन पाएका छन् ।
आइतबार विश्वासको मत लिएका मुख्यमन्त्री शाहलाई नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजबादीले विश्वासको मत दिएका हुन । दिउँसो १ बजेदेखि सुरु भएको प्रदेश सभा बैठकमा तीनवटै दलका नेताहरुले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका छन् । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, नेकपा एसका ४ र स्वतन्त्र १ जना छन् । यसरी मुख्यमन्त्रीको पक्षमा ४१ मत प्राप्त भएको छ ।
मुख्यमन्त्री शाहलाई मत नदिने निर्णय गरेका नेकपा एमाले र राप्रपा प्रतिपक्षमा बसेका छन् । प्रदेश सभामा एमालेका उपसभामुखसहित १० सांसद छन्। सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले विश्वासको मत पाएको घोषणा गरेका थिए । शाहको पक्षमा ४१ प्रदेश सांसदले मतदान गरेका छन् । विपक्षमा ११ सांसदले मत खसालेका थिए ।
विश्वासको मत विभाजनमा ५२ प्रदेश साँसद उपस्थित थिए । शाहले दुई तिहाइ भन्दा बढि मत पाएका हुन। सुदूरपश्चिमको हकमा यो ऐतिहासिक मत हो । यसअघि पहिलो कार्यकालका मुख्यमन्त्री त्रिलोचन भट्टलाई तत्कालीन नेकपाको ३७ सांसदको समर्थन थियो । संविधाको धारा १६८ को उपधारा ३ बमोजिम २६ माघमा संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए। यो संगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार जोगिएको छ। यसअघि २७ पुसमा मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्र सिंह रावल समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा २९ दिनमै पदमुक्त भएका थिए।