शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर १२ भदौ /
राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुररिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कम्जोर देखिएको छ ।
आयोजनाले विनियोजन गरेको कुल बजेटको ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेन ।
गत आर्थिक वर्षमा आयोजनाका लागि चालू तर्फ १९ करोड ७६ लाख बजेट मध्ये ९ करोड २६ लाख ४४ हजार अर्थात ४६ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको देखिएको छ । त्यस्तै पुँजीगत तर्फ ६९ लाख बजेट विनियोजन भएकोमा आयोजनाले तीस लाख ८१ हजार अर्थात ४४ दशमलव ६६ प्रतिशत बजेट खर्च भएको देखिएको छ । चालू र पुँजीगत गरेर पनि आयोजनाको खर्च ५० प्रतिशत पुग्न सकेन ।
२० करोड ४५ लाख कार्यान्वयनका आगि आएको बजेटमा आयोजनाले ९ करोड ५७ लाख २५ हजार अर्थात ४६ दशमलव ८१ प्रतिशत बजेट खर्च भएको कार्यान्वयन इकाईका सुचना अधिकारी दिलीप जंग रानाले बताउनुभयो । उहाँका अनुसार कार्यान्वयन इकाईले ठूलो आयोजनाको रुपमा रहेको कोल्डस्टोरको बजेट खर्च हुन नसक्दा प्रगति कम देखिएको छ । “कोल्डस्टोरका लागि ६ करोड बजेट विनियोजन भएको थियो । त्यसलाई गत आर्थिक वर्षमा खर्च गर्न सकिएन । त्यो बजेट कुल बजेटको करिब ३० प्रतिशत हुन आउँछ ।” सुचना अधिकारी रानाले भन्नुभयो, “अन्यमा पनि किसानले सम्झौताअनुसार काम नगर्दा भुक्तानी कम हुनु, कार्यालयमा कर्मचारीहरु नहुँदा तलबभत्तामा जाने रकम पनि खर्च कम हुँदा प्रगति कम देखिएको हो ।
आयोजनामा कामको प्रगति कम देखिनुमा कोलडस्टोर निर्माणको काम सुरु नहुनु पनि देखिएको छ । बर्सेनि बजेट विनियोजन हुने तर कार्यान्वयन नभएरै त्यसै बजेटलाई अल्यामा ल्याउने काम आयोजनाले गर्दै आएको छ । चालू आर्थिक वर्षमा भने कोल्डस्टोर निर्माणको काम सुरु हुने भएको छ । आयोजनाले सुचना जारी गर्दै प्रक्रिया अगाडि बढाएपछि कृषि क्षेत्रमा सम्भावना बढाउँदै गएको टीकापुरमा कोल्डस्टोर निर्माण हुने आशा जागेको स्थानीय कमल चौधरी बताउनुहुन्छ । जसमा एक करोड २५ लाख रुपैयाँ स्थानीय सरकारले लगानी गर्दै छ ।
अर्को कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी अभाव देखिएको छ । कर्मचारी अभावका कारण पनि गत वर्ष कामको प्रगति संतोषजनक हुन नसकेको सुचना अधिकारी राना बताउनुहुँन्छ । उहाँकाअनुसार १३ जना स्थायी कर्मचारीको दरबन्दी रहेकोमा हाल ७ जना मात्रै छन् । अधिकृतस्तरको मात्रै ७ जनाको दरबन्दी छ । जसमा तीन जनाको मात्रै पदपूर्ति छ । “कर्मचारी नहुँदा कार्यक्रम कार्यान्वयनमा समस्या भएको हो ।” सुचना अधिकारी राना भन्नुहुन्छ, “विशेषगरी अधिकृत स्तरको कर्मचारी नहुँदा कार्यक्रम कार्यान्वयन हुन नसकेका हुन । त्यहीँ पनि सहायकस्तरका कर्मचारीहरुले पनि काम गरेकै हुन ।”
लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेको आयोजनाको चालू आर्थिक वर्षका लागि बजेट घटेर आएको छ । चालु आर्थिक वर्षमा १४ करोड ८६ लाख बजेट स्वीकृत भएको छ । जसमा नेपाल सरकारको एक करोड ६७ लाख छ भने विश्व बैंकको १३ करोड १९ लाख रहेको छ । जसमा ६ करोड ६० लाख कोल्डस्टोर निर्माणका लागि मात्रै छ । सन विश्व बैंकसँगको २०२३ डिसेम्बरमा कार्यक्रमको सम्झौता अवधी सम्पन्न हुनेमा पुनः १८ महिनाका लागि कार्यक्रम थप भएको छ । अब आयोजनाले २०२५ जुलाईसम्म काम गर्ने छ । अब आयोजनासँग दुई वर्ष बाँकी छ ।