शेयेर गर्नुहोस
अर्जुन खत्री
भजनी ०२ भाद्र / भजनी नगरपालिकाको वडा नं. ३ का वडा अध्यक्ष बिक्रम चौधरीले बाढीका कारण बिस्थापित भएका परिवारलाई गरिएको राहात वितरणमा पूर्ण पारदर्शिता रहेको दाबी गरेका छन् ।
वडा अध्यक्ष विक्रम चौधरीले स्थानीय सरकारबाट प्राप्त सबै राहात सामाग्री समानरुपमा बाढीबाट प्रभावित भएका स्थानीय जनतालाई पारदर्शी रुपमा वितरण गरेको जानकारी दाबी गरेका हुन् । उनले बाढीबाट वडा नं. ३ मा करिब ३ सय ५० जना स्थानीयहरु घर छोडेर अन्यत्र बस्नु परेको बताउँदै ६ सय घर डुबानमा परेको बताएका छन् । वडामा १ हजार १ सय ९० घरधुरी प्रत्यक्ष रुपले प्रभावित भएका छन् । कतिपयको घरमा पानी नपसे पनि खेतबारीमा लगाएका अन्नबाली पूर्ण रुपमा नष्ट भएको छ ।
‘पहिलो चरणमा उद्दार र राहात सामाग्री वितरण गरेका छौं । वडामा मानवीय क्षति भएको भने छैन ।’ वडाअध्यक्ष चौधरीले भने, ‘राहतमा चाउचाउ, चिउरा, बिस्कुट खाद्यान्न सामाग्री हाइजेनिक कीट, त्रिपाल लगायतका सामग्री वितरण गरेका हौं । अहिले पानीको सतह घटेको छ । स्थानीयहरु घर फर्कने क्रम पनि सुरु भएको छ ।’
बाढी प्रभावित केही स्थानीयहरु महुन्याल सामुदायिक वनको जग्गामा त्रिपाल लगाएर बस्दै आएका छन् । वनको जग्गामा अस्थायी रुपमा आश्र्रय लिइरहेका छन् । अध्यक्ष चौधरीले भजनी नगरपालिकाले बाढी प्रभावितहरुलाई जग्गा दिने सम्बन्धमा कुरा आएको भए पनि जग्गा दिने अधिकार स्थानीय सरकारलाई नभएको बताएका छन् । ‘स्थानीय सरकार भनेको एउटा पहल गर्ने निकाय हो । पक्कै पनि बाढी पीडित जनतालाई हामीले दिगो व्यवस्थापन , सुरक्षित बाँसस्थान र त्यसका लागि हामीले पहल गर्ने हो ।’ वडाअध्यक्ष चौधरीले भने, ‘उनीहरुलाई उच्च घर बनाएर हुन्छ कि, सुरक्षित स्थानमा जग्गा दिएर हुन्छ ? यो विषयमा प्रदेश सरकार र संघीय सरकारसँग समन्वयको प्रक्रिया नगरपालिकाले सुरु गरिसकेको छ ।’
वडा अध्यक्ष चौधरीले अहिलेको अवस्थामा केही व्यक्तिहरुले अफवाह फैलाउँदा बाढी पीडितहरु भ्रममा रहेको समेत जानकारी दिएका छन् । ‘नगरपालिकाले वन फँडानी गरेर जग्गा दिने कुनै अधिकार पनि छैन । हामीले यस विषयमा निर्णय गर्न पनि मिल्दैन ।’ वडाअध्यक्ष चौधरीले भने, ‘जुन सामुदायिक वनमा बाढी पीडित जनताहरु बसेका छन्, त्यो अस्थायी शिविर हो । उनीहरुलाई ज्यान बचाउन गाह्रो भएकै कारण केही दिनको आश्रय लिन आएका हुन् भन्ने हामीले बुझ्नु पर्दछ ।’