शेयेर गर्नुहोस
टीकापुर १४ असार /
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको ४७ औं वार्षिक साधारण सभा शनिबार टीकापुरमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस उपशाखा टीकापुरको आतिथ्यतामा जिल्ला शाखाकाका सभापति बासुदेव बिनाडीको अध्यक्षतामा भएको कार्यक्रमको उत्पादन सत्रलाई सम्बोधन गर्दै सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले रेडक्रस विपदको साथी भएको बताउनुभएको छ । “नागरिकहरू पिडामा भएको बेला शान्त्वना दिने काममा रेडक्रस सधै अग्रपंक्तिमा हुन्छ । नागरिकहरूले विपदको साथी रेडक्रसलाई मानेका छन् ।” मन्त्री साउँदले भन्नुभयो, “संकटग्रस्त क्षेत्रमा होस् वा युद्धग्रस्त क्षेत्रमा होस रेडक्रसको भुमिकालाई अन्यसँग तुलना गर्न सकिँदैन ।”
सबै धर्मभन्दा माथी मानवीय धर्म रहेको भन्दै सामाजिक विकास मन्त्री साउँदले त्यसको प्रतिनिधित्व रेडक्रसले गर्दै आएको बताउनुभयो । “हामी समाजवादको सिद्धान्त कार्यान्वयन हुनुपर्छ भनेर लागेका हुन्छौं । त्यो कार्यान्वयन कहाँ कसरी गर्ने भन्ने अन्योल सधैं रहँदै आएको पनि छ ।” मन्त्री साउँद भन्नुहुन्छ, “रेडक्रसले प्रतिपादन गरेका सात आधारभूत सिद्धान्तलाई कार्यान्वयन गर्न सके समाजवाद खोज्न टाढा जानू पर्दैन ।”
कार्यक्रमलाई सम्बोधनका क्रममा मन्त्री साउँदले रेडक्रसले रगत संकलनको क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै प्रदेशबाट रगत संकलन केन्द्रलाई व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “स्वास्थ्य क्षेत्र सामाजिक विकास मन्त्रालय अन्तर्गत नै पर्छ । त्यस क्षेत्रमा रेडक्रसको पनि भुमिका छ ।” मन्त्री साउँद भन्नुहुन्छ, “हामी सबै मिलेर मानवीय क्षेत्रमा काम गर्ने संयन्त्र हौं । सँगै समन्वय र सहकार्य गरेर काम गर्नुपर्छ । एकाअर्काको परिपुरक भएर काम गर्दा त्यसको प्रतिफल राम्रो आउँछ ।”
उनले टीकापुर अस्पताललाई एक सय एक शैयाको अस्पताल घोषणा गरेर मात्रै मन्त्रालयबाट विदा हुने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सेती प्रादेशिक अस्पतालको सहायक अस्पतालको रुपमा महाकाली अस्पताल र टीकापुर अस्पताललाई विकास गरिने भन्दै चालू आर्थिक वर्षमा पनि टीकापुर अस्पतालका आगि साढे १० करोड बजेट विनियोजन भएको बताएका छन् । “आवश्यकताअनुसार हामीले पनि काम गर्न सकेका छैनौं त्यसमा दुईमत छैन,तर टीकापुर अस्पतालको विषयमा हामी गम्भीर छौँ । यसैवर्ष टीकापुर अस्पतालको स्तरोन्नति हुन्छ ।” मन्त्री साउँदले भने ।
सुदुरपश्चिम प्रदेश सांसद लक्ष्मण किशोर चौधरीले टीकापुर रेडक्रस सोसाइटी उपशाखाको स्तरोन्नतिका लागि प्रदेश सरकारसँग माग गरेका छन् । उनले मानव जिवनमा अप्ठ्यारोको सहयात्री रेडक्रस भएको भन्दै त्यसको भुक्तभोगी आफू पनि भएको बताएका छन् । प्रदेश सांसद ज्ञानु कुँवरले रेडक्रसका आधारभूत सिद्धान्तहरुलाई नागरिकहरूको माझमा लैजान आवश्यक रहेको बताउँदै त्यसका लागि आफुहरुको साथ सधैं रहने बताएकी छन् । अर्कि प्रदेश सांसद ललिता सुनारले रेडक्रसको सेवालाई कसैसँग तुलना गर्न नसकिने बताउँदै नागरिकहरूको दुखको सहयात्री नै रेडक्रस रहेको बताएकी छन् ।
कैलाली जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक खगराज भुसालले समस्या पर्दा सबैभन्दा पहिले सम्झने क्षेत्र नै रेडक्रस भएको बताएका छन् । उनले मानव सेवामा सबैभन्दा अगाडि रेडक्रस भएको बताउँदै रेडक्रसको भुमिका समाजमा सधैं अग्र पंक्तिमा रहँदै आएको बताएका छन् ।
साधारण सभामा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचीव विश्वदिप वेश्रा, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य उत्तमराज जोशी , टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट बहादुर सोडरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । टीकापुर उपशाखाका सचीव धर्मराज शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला उप-मन्त्री राकेश हमलले गरेका थिए ।