रोकिएको शौचालयको काम हुने भयो

शेयेर गर्नुहोस


टीकापुर १७ माघ /
पुरानो शौचालय भत्काएर नयाँ निर्माणका लागि काम सुरु भएको टीकापुर नगरपालिका वडा नं. १ भानुचोक स्थित सार्वजनिक शौचालय निर्माण गर्न दुई पक्षबिच सहमति भएपछि शौचालयको काम अगाडि बढ्ने भएको छ ।
यसअघि नगरपालिकाले स्काभेटर लगाएर शौचालयको जगको काम सुरु गरेपछि स्थानीयले विरोध गर्दै काममा अवरोध गराएका थिए । स्थानीयको अवरोधपछि शौचालयको काम अगाडि बढ्न सकेको थिएन । शौचालय निर्माणका विषयमा टीकापुर नगरपालिका र स्थानीयले सहमति पत्रमा हस्ताक्षर गर्दै निर्माणको काम अगाडि बढाउने सहमति भएपछि सो ठाउँमा शौचालय निर्माण हुने निश्चित भएको छ । नगरपालिकाका तर्फबाट नगर प्रमुख रामलाल डगौरा थारु र स्थानीयका तर्फबाट स्थानीय जनक बिष्टले सहमति पत्रमा हस्ताक्षर गरेका छन । सहमति पत्रमा नगरपालिकाका तर्फबाट वन वातावरण तथा सरसफाई उपशाखाका प्रमुख लोकबहादुर बुढा र स्थानीयका तर्फबाट उमेश तुलाचन साक्षी बसेका छन ।
सहमति पत्रमा पहिलो र दोस्रो पक्षका लागि छ वटा बुँदा उल्लेख गरिएका छन । नगरपालिकाले शौचालय र आसपासको क्षेत्रमा दैनिक सरसफाई गर्ने, हाल रहेको सेफ्टी ट्यांकीको अध्ययन गरी आवश्यकता अनुसार मर्मत वा नयाँ निर्माण गर्ने, वाईफाई र सिसी क्यामेरा जडान गर्ने र स्थानीयसँगको सहकार्यमा निर्माण कार्य अघि बढाउने सहमति पत्रमा उल्लेख छ । त्यस्तै स्थानीयले शौचालय निर्माणमा अवरोध नगर्ने र शौचालय निर्माण सम्पन्न भएपछि सरसफाई कार्य, क्यान्टिन सञ्चालन र रेखदेखको जिम्मा लिने पनि सहमति पत्रमा भनिएको छ ।
एशियाली विकास बैंकको २० लाख आर्थिक सहयोगमा सार्वजनिक शौचालय निर्माण गरिने नगरपालिकाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *