लाखौं खर्च भएका संरचना अलपत्र

शेयेर गर्नुहोस


टीकापुर १२ जेठ /
टीकापुर क्षेत्रको पर्यटन प्रवर्द्धनका तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यका साथ निर्माण भएको पर्यटन सुचना केन्द्रको भवन यतिबेला अलपत्र जस्तै भएको छ ।
कैलाली होटल व्यवसायी संघको मातहतमा निर्माण भएको त्यो भवन प्रयोगमा ल्याउन नसक्दा अलपत्र जस्तै बनेको हो । भवन तीन तलाको निर्माण भएको छ । जुन भवनमा सुदुरपश्चिम प्रदेश सरकारले दुईपटक बजेट खर्च गरेको छ भने चिसापानी पर्यटन प्रवर्द्धन समितिको पनि लगानी छ । आधा करोड भन्दा बढी बजेट खर्च भएको भवनको औचित्य माथी नै प्रश्न उठ्न थालेको छ ।
खासगरी टीकापुर सर्किटका होटल व्यवसायीहरुको समन्वय रहने गरी सो सर्किटमा घुम्न आउने पर्यटकहरुलाई आवश्यक परामर्श र पर्यटन क्षेत्रको जानकारी दिने उद्देश्यले भवन निर्माणको परिकल्पना गरिएको कैलाली होटल व्यवसायी संघका महासचिव तेजबहादुर बोहरा बताउँछन् । “जुन उद्देश्य थियो, त्यो अनुसार हाम्रा गतिविधि अगाडि बढ्न सकेका छैनन् भने भवन पनि अझै पुर्ण हुन सकेको छैन ।” महासचिव बोहराले भने, “हामीले योजना अनुसार काम गर्न नसक्दा सो भवन हाल होटल व्यवसायी संघको कार्यालयमा मात्रै सिमित भएको छ ।”
महासचिव बोहराका अनुसार भवन तथा घेरबारमा झण्डै ५५ लाख खर्च भएको छ । बजेट अभाव भएकै कारण भवन पुर्ण गर्न नसकिएको उनले बताए । तर उक्त भवन जुन परिकल्पनाका साथ निर्माण गरिएको छ, त्यसैअनुसार प्रयोगमा ल्याउन भने निकै चुनौती रहेको स्थानीयको भनाई छ । “होटल व्यवसायी संघले आफ्नो लगानी गरेर सुचना केन्द्र सञ्चालनमा ल्याउन सक्ने स्थिति छैन ।” स्थानीय व्यवसायी दानबहादुर सुनार भन्छन्, “राज्यले सधैभरी बजेट विनियोजन गरेर त्यो सुचना केन्द्र सञ्चालनमा ल्याइदिए मात्रै हो । होइन भने, यो खर्च व्यर्थ भएको छ ।”
त्यसो त प्रदेश सरकारको लागतमा बनेका यस्ता दर्जनौं संरचना अलपत्र छन् । प्रदेश सरकारले मात्रै करोडौं खर्च गरेको टेकबहादुर स्मृति केन्द्रका संरचना जीर्ण बनिसकेका छन् । केही संरचना अधुरै छन् भने निर्माण भएका पनि प्रयोगमा छैनन् । बाल उधानको रुपमा विकास गरिएको सो क्षेत्र यतिबेला खंडहर जस्तै बनिसकेको छ । गेटमा लागेको तालामा सायद खिया लागिसकेको छ । बनेका संरचनाको औचित्य नै छैन ।
उता धुमधामका साथ उद्घाटन गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रको भवन पनि प्रयोगमा अझै आउन सकेको छैन । सेवा केन्द्रले आजका दिनमा पनि नागरिकहरूलाई दिँदै आएको सेवा पुरानै ठाउँबाट दिँदै आएको छ । राज्यबाट करोडौं लगानी भएका संरचना अलपत्र हुँदा पनि त्यसको अनुगमन गर्ने र प्रयोगमा ल्याउन सक्ने योजना कुनै सरकारसँग पनि नभएको स्थानीय बृजलाल चौधरी बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *