शेयेर गर्नुहोस
समाधान समाचार , टीकापुर २३ फागुन/ नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाइ समिति टीकापुरको आठौं वार्षिक चुनावी साधारण सभा शनिबार सम्पन्न भएको छ ।
समितिका अध्यक्ष सत्यराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य रामबहादुर बडायकले कानून व्यवसायहरु परिवर्तित समयसँगै प्रविधिमैत्री बन्नुपर्ने समय आएको बताएका छन् । उनले भू–सेवाले केही व्यवसायीहरु स्थिापित पनि हुनुपर्ने सम्भावना बढेको भन्दै त्यसतर्फ संगठनले विशेष ध्यान दिन आग्रह गरेका छन् ।
कार्यक्रममा मालपोत कार्यालय टीकापुरका प्र्रेमप्रकाश सिंहले सेवाग्राहीको काम छिटोछरितो गर्नु नै ठूलो कुरा रहेको बताउँदै कानून व्यवसायीहरु पनि बदलिँदो परिस्थिति अनुसार प्रविधिमैत्री बन्नुपर्ने बताएका छन् । उनले मालपोत कार्यालय स्थानीय तहहरुलाई हस्तान्तरण गर्ने कुरा सम्भव नभएको बताउँदै मालपोतबाट हुने रजिष्ट्रेशन दस्तुर र जग्गा धनी प्रमाण पूर्जाको काम स्थानीय तहमा जान सक्ने बताएका छन् ।
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन कैलालीका अध्यक्ष लक्ष्मीप्रसाद खनालले अरुलाई सम्मान गर्न सिकेमात्र आफूहरुले सम्मान पाउने बताउँदै सेवाग्राहीका गुनासोलाई सम्बोधन गर्नु व्यवसायी–हरुको कर्तव्य भएको बताएका छन् । उनले नापी र मालपोत कार्यालयसँग निरन्तर समन्वय गरी व्यवसायीहरु एक ढिक्का हुनका लागि पदभन्दा संगठन बचाउनेतर्फ लाग्न आग्रह गरेका छन् ।
अधिवक्ता मुक्तिप्रसाद भट्टराईले कानून व्यवसायीहरु जिम्मेवार बन्न आवश्यक रहेको बताउँदै सेवाग्राहीको खुसीलाई नै आफ्नो सन्तुष्टि ठानेर काम गर्न आग्रह गरेका छन् । कार्यक्रममा पूर्व अध्यक्ष कृष्णप्रसाद बसौट्याल, भोजराज बिनाडी, टीकापुर उद्योग वाणिज्य संघका सदस्य नवराज
रिमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समितिले आर्थिक वर्ष २०७६÷०७७ को १९ लाख १३ हजार ३ सय ३१ रुपैयाँ ९ पैसा बराबरको आय–व्यय समेत सार्वजनिक गरेको छ । सचिव शान्तराज शर्माले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष देवानन्द ओझाले गरेका थिए ।
साथै, सत्यराज शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति समेत निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा धनबहादुर बुढाथोकी, सचिव केशरबहादुर रावल, सह–सचिव कम्मानसिंह रावल, कोषाध्यक्ष गौतम चौधरी रहेका छन् भने सदस्यमा अङ्गबहादुर शाही, उदयराम रेग्मी, अशोक खत्री र रामलखन बडायक रहेका छन् ।