शिविरबाट ९ सय ९६ जनाले लिए सेवा

शेयेर गर्नुहोस


टीकापुर १२ असोज /
टीकापुर नगरपालिकाको आयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा गरिएको निःशुल्क प्लास्टिक सर्जरी शिविरमा ९ सय ९६ जनाले उपचार सेवा लिएका छन् ।
शिविरमा चार सय ४७ पुरुष र पाँच सय ४९ महिलाले उपचार सेवा लिएका हुन् । शिविरमा उपचार सेवा लिनेमध्ये दुई सय ४० जनाको शल्यक्रिया गरिएको छ । उपचार सेवा लिन आएकामध्ये एक सय ७६ जनालाई थप उपचारका लागि सुष्मा कोइराला अस्पताल काठमाडौँ पठाइएको छ । यसरी पठाइएकाहरुको समेत निःशुल्क उपचार हुने अस्पतालले जनाएको छ ।
काठमाडौँमै गएर उपचार गर्नुपर्ने भएकाले त्यहाँ पठाइएको अस्पतालका प्रमुख प्रशासक प्रफुल्ल शर्माले बताएका छन् । ‘यहाँ उपचार सम्भव नभएकाहरुलाई काठमाडौँ पठाएका छौँ, त्यहाँ पनि उहाँहरुले निःशुल्क उपचार सेवा पाउनेछन ।” शर्माले भने ‘यहाँबाट काठमाडौँसम्म पुर्‍याउने व्यवस्था बिरामीका आफन्तले गर्नुहुन्छ, उपचार सेवा सबै निःशुल्क हुनेछ । खाने र बस्ने व्यवस्थापन पनि आफैले गर्नुपर्छ ।” शिविरमा पाँच वर्ष मुनिका ६७ जनाले उपचार सेवा लिएकामा पाँच जनाको शल्यक्रिया गरिएको छ । पाँचदेखि १५ वर्ष उमेरभित्रका एक सय २९ जना परीक्षणमा आएकामा ४३ को उपचार गरिएको जनाइएको छ ।
चार दिनसम्म टीकापुर अस्पतालमा सञ्चालित शिविर समापन कार्यक्रममा नगर प्रमुख रामलाल डगौरा थारुले विपन्न समुदाय यो शिविरबाट लाभान्वित भएको र यस्ता शिविर थप गर्न माग आइरहेको बताएका छन् । नगर प्रमुख थारुले निःशुल्क सेवा दिन टीकापुर पुगेको अस्पतालको टोलीलाई धन्यवाद दिँदै मानवीय भावना र दायित्व पूरा गर्न सहयोग मिलेको बताए । नगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बलबहादुर रावलले सामाजिक भावनाका साथ सञ्चालन भएको शिविरमा थप उपचारका लागि काठमाडौँ पठाइएको र भएका विपन्न नागरिकलाई यातायात खर्च नगरपालिकाले सहयोग गर्ने बताएका छन् ।
‘काठमाडौँमा उपचारमा जाने विपन्न बिरामीलाई यातायात खर्च पालिकाले ब्यहोर्ने छ ।” उनले भने । टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले जलनको सेवा नेपालका दुई ठाउँमा मात्रै हुँदा नागरिकलाई समस्या भइरहेको अवस्थामा टीकापुरमै आएर सेवा दिएकामा अस्पताललाई धन्यवाद दिएका छन् । शिविर असोज ७ बाट १० गतेसम्म सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *