शेयेर गर्नुहोस
टीकापुर ०४ भदौ /
जानकी गाउँपालिका वडा नं. ९ खैरिफाँटामा रहेको श्री अरुणोदय माद्यामिक बिधालयले आफ्नो ५१ औं स्वर्ण जयन्ती मनाएको छ ।
२०२९ साल भदौ १ गते स्थापना भएको बिधालयले भदौ १ गते आफ्नो ५१ औं स्वर्ण जयन्ती मनाएको हो । बिधालयले पछिल्लो समयमा बिधालयको शैक्षिक गुणस्तर र विपन्न बालबालिकालाई आर्थिक अभावका कारण पढाईमा कसैको बाधा नहोस् भन्दै ५१ औं स्वर्ण जयन्तीको अवसरमा अभियानको थालनी समेत गरेको छ । अभियानका क्रममा बिधालयका पुर्व बिद्यार्थीहरुले बिधालयलाई सहयोग गर्दै आएका छन् । बिधालयले आह्वान गरेको वृद्धि विकासको कार्यमा पुर्व बिद्यार्थी तथा बिधालयका शुभचिन्तकहरुले स्वस्फूर्त रुपमा सहयोग गर्दै आएका छन् । आइतबारसम्म बिधालयको खातामा ८ लाख भन्दा बढी रकम संकलन भएको छ ।
“हामीले अरुणोदयलाई नमुना बिधालयको रुपमा विकास गर्न र सबै बर्ग समुदायका बालबालिकालाई नि:शुल्क अध्ययनमा सहज बनाउने उद्देश्यले अभियान चलाएका छौं ।” बिधालयका प्रधानाध्यापक कपिल राज भाटले भने, “प्राविधिक शिक्षामा जोड,अक्षयकोष मार्फत विपन्न बालबालिकालाई छात्रवृत्ति, बिधालयको वृतचित्र निर्माण लगायतका क्षेत्रमा संकलन भएको सहयोग बापतको रकम खर्च गर्ने भनेका छौं ।” बिधालयको नेतृत्वमा परिवर्तन भएसँगै एकपछि अर्को सफलता हासिल गर्दै आएको बिधालयको विकासलाई नेतृत्वले प्रभाव पारेको स्थानीय बताउँछन् ।
बिधालयको स्थापनामा अतुलनीय भुमिका खेल्ने संस्थापक व्यवस्थापन समिति अध्यक्ष स्व टीकाराम भाट र संस्थापक प्रधानाध्यापक स्व गगनसिंह थापाको बिधालयले सधै सम्झिरहने प्रधानाध्यापक भाट बताउँछन् । “जुन बिधालय स्थापना भयो त्यसमा संस्थापक स्व भाट र थापाको योगदान सधैं बिधालयले सम्झिने छ ।” उनले भने, “अर्कोतिर बिधालयबाट उत्पादन भएका पुर्व बिद्यार्थीहरुले देखाएको सहानुभूति र मायाले बिधालयलाई अझै उचाईमा पुर्याउन मद्दत पुग्नेछ ।” अहिले बिधालयमा आफ्ना आफन्तको नाममा अक्षयकोष निर्माण गर्नेहरु पनि बढेका छन् । वार्षिक विपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान हुनेगरी बिधालयमा अक्षयकोष निर्माण हुन थालेका हुन ।
अरुणोदयमै अध्ययन गरेका उदयराज भाटले आफ्ना बुबा स्व मोहन भाटको स्मृतिमा एक लाखको मोहन स्मृति छात्रवृत्ति अक्षयकोष बनाएका छन् । त्यस्तै ३२ वर्ष त्यसै बिधालयमा सेवा गरेर बिदा भएका रणबहादुर बिष्टले स्व आमाको स्मृतिमा २५ हजारको बिस्नादेवी स्मृति अक्षयकोष बनाएका छन् भने बिधालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर विष्टले स्व बुबा कालुसिंह बिष्टको स्मृतिमा १५ हजारको अक्षयकोष बनाएका छन् । ती सबै अक्षयकोषको उद्देश्य बिधालयका कम्जोर बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको प्रधानाध्यापक भाट बताउँछन् ।
त्यतिमात्र होइन, गैरआवसीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले बिधालयमा ई–लाइब्रेरी बनाउने घोषणा गरेका छन् । बिद्यालयको स्वर्ण जयन्ती कार्यक्रम आरम्भ भएको अवसरमा व्यवसायी थापाले बिद्यालयमा ई–लाइब्रेरी बनाउने घोषणा गरेका हुन् । उनले बिद्यालयको स्वर्ण महोत्सव र आफ्ना स्व पिताको जन्मउत्सवको अवसर पारेर बिद्यालयमा ई–लाइब्रेरी बनाउने घोषणा गरेका छन् । थापाले बिद्यालयको पुस्तकालय बिस्तार र इ–लाइब्रेरीको परियोजना आगामी तीन महिना भित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको जनाएका छन् ।
पुस्तकालय परियोजनाका लागि प्राविधिक सहयोग गरिरहेको नेपाल लाइब्रेरी फाउण्डेशन र सबै परोपकारी व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद दिँदै बिद्यालयको तर्फबाट परियोजनाको संयोजन गरिरहेका प्रधानाध्यापक कपिलराज भाट लगायत शिक्षक, व्यवस्थापन समिति र अभिभावकहरुलई पनि थापाले आभार व्यक्त गरेका छन् ।