शैक्षिक विकासका सरकार गम्भीर छ : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस


टीकापुर २२ भदौ /
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले
शैक्षिक क्षेत्रको विकासका लागि प्रदेश सरकार लागिपरेको बताउनुभएको छ । कैलालीको टीकापुर स्थिति वीरेन्द्र विद्या मन्दिर क्याम्पसको क्याम्पस सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री शाहले वर्तमान आवश्यकताको आधारमा शिक्षालाई गुणात्मक बनाउनका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको हो । “हामी शैक्षिक क्षेत्रको विकासका लागि गम्भीर छौँ । प्रदेश सरकारको स्रोतसाधनले सकेको काम गरिरहेकै छौं ।” मुख्यमन्त्री शाह भन्नुहुन्छ, “विगतको स्थिति हेर्दा शैक्षिक क्षेत्रमा ठूलो सुधार भएको छ तर वर्तमान आवश्यकतालाई हामीले पछ्याउन सकेका छैनौं ।”
उहाँले माद्यामिक तहसम्मको शिक्षा स्थानीय तहलाई र उच्च शिक्षा प्रदेशको मातहतमा रहने संवैधानिक व्यवस्था भएपनि त्यसको कार्यान्वयन हुन नसक्दा पनि शिक्षामा उल्झन कायमै रहेको बताउनुभएको छ । एक पालिका एक नमुना बिधालयको अवधारणा बनाएर त्यसलाई कार्यान्वयन गर्ने तयारीमा प्रदेश सरकार रहेको मुख्यमन्त्री शाह बताउनुहुँन्छ । “माद्यामिक तहसम्मको सबै बिधालयमा डिजिटल लाइब्रेरी र कम्प्युटर ल्याबको व्यवस्थापन गर्ने गरी पहिलो चरणमा सरकारले योजना अगाडि बढाएको छ ।” मुख्यमन्त्री शाहले भन्नुभयो, “त्यो सँगै शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश सरकारले रणनीतिक योजनाका साथ अगाडि बढ्न खोजेको छ ।”
टीकापुरलाई शैक्षिक नगरीको रुपमा विकास गर्नका लागि तत्कालीन टीकापुरका योजनाकार स्व. खड्गबहादुर सिंहको योगदानलाई स्मरण गर्नुहुँदै मुख्यमन्त्री शाहले इतिहासलाई जोगाउन सकिएन भने त्यसको पहिचान समाप्त भएर जानसक्ने बताउनुभयो । “राष्ट्रलाई सवल, सक्षम र अर्थतन्त्रमा बलियो बनाउनका लागि शिक्षा र पर्यटन क्षेत्रको विकास समयानुकूल हुनुपर्छ ।” उहाँ भन्नुहुन्छ, “होइन भने स्थितिले नकारात्मक नतिजा पनि दिन सक्छ । जुन अहिले अध्यायकै लागि विदेशिनेको लर्को छ ।”
कार्यक्रममा सुदुरलश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डा जगतबहादुर सिंह रावलले शैक्षिक क्षेत्रमा टीकापुरको पुर्वाधार र दक्षता कम्जोर नभएको बताएका छन् । टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडक बहादुर शाहले जात, धर्म र आस्थाका आधारमा हुने विभाजनले टीकापुर अगाडि बढ्न नसकेको बताएका छन् । उनले शिक्षा क्षेत्रमा हुने मुल्यांकनमा नै विभेद हुन्छ भन्दै बिद्यार्थीहरु आफू कहाँ आएको बताउँदै त्यसबाट जाने सन्देशले दिने नतिजामा ख्याल गर्न आग्रह गरेका छन् । “समस्या सबै क्षेत्रमा हुन्छ, हामीमा पनि छ । त्यसलाई हामीले साझा बनाएर लिन सकेका छैनौं ।” नगर उपप्रमुख शाहले भने, “राज्यको दाइत्व हुन्छ् त्यसमा नागरिकहरूको दाइत्व त्यो भन्दा बढी हुन्छ ।”
नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले शैक्षिक क्षेत्र खस्किँदो अवस्थामा पुगेको भन्दै त्यसको स्तर उठाउनका लागि बौद्धिक बहस आवश्यक रहेको बताएका छन् । उनले क्याम्पसलाई दलिय भागबण्डाका आधारमा राजनीतिक गर्ने थलो नबनाउन आग्रह गर्दै नगर प्रमुखलाई नै क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था कायम गर्न सके राम्रो हुने बताएका छन् । कार्यक्रममा रावलले टीकापुरलाई खराब हामी आफैले देखाएको समेत औल्याएका छन् ।
नेपाली काँग्रेसका कैलाली क्षेत्र नं. १ का सभापति प्रकाश शाहले बिधालयमा बिद्यार्थीको अभाव राष्ट्रिय समस्याको रुपमा रहेको बताउँदै त्यसतर्फ राज्य जिम्मेवार बन्नुपर्ने बताएका छन् । उनले शिक्षालाई रोजगारीसँग जोड्न सकिएन भने आगामी दिन झनै कठिन बन्ने बताए ।
वीरेन्द्र बिद्या मन्दिर माद्यामिक बिधालय टीकापुरका प्रधानाध्यापक फणेन्द्र राज रेग्मीले शैक्षिक क्षेत्रको टीकापुरमा जग बसाल्न वीरेन्द्रको भुमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
सभामा क्याम्पसका पुर्व अध्यक्ष ललित थापाले पछिल्लो समय क्याम्पसले सकारात्मक लय समातेको बताउँदै क्याम्पसलाई राजनीतिक थलो नबनाउन आग्रह गरेका छन् । उनले क्याम्पसका गैर अभिभावक आएर राजनीतिक गर्ने थलो नबनाउन आग्रह गरेका हुन । “क्याम्पसका बिद्यार्थीका अभिभावकलाई क्याम्पसको व्यवस्थापन समितिमा ल्याउनुपर्छ । गैरअभिभावकहरुले क्याम्पसको हित गर्न सक्दैनन् ।” उनले भने, “आफ्ना बालबालिकालाई निजिमा पठाउने, निजि शैक्षिक संस्था सञ्चालन गर्ने तर नेतृत्वका लागि सामुदायिक क्षेत्रमा आएर हस्तक्षेप गर्नु राम्रो हुँदैन ।”
क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनका सभापति नवीन अधिकारीले गरिबका छोराछोरी माथी राजनीति नगर्न सुझाव दिएका छन् । उनले क्याम्पसको नेतृत्व गर्न आउनेहरुका बालबालिका क्याम्पसमा अध्ययन नगर्ने भन्दै तिनलाई क्याम्पसको नेतृत्वका लागि राजनीति गर्न नआउन आग्रह गरेका छन् । नेपाल समाजवादी पार्टी कैलालीका अध्यक्ष वीरेन्द्र साउँदले अहिलेकै अवस्थामा बिद्यार्थीहरुलाई टिक्नसक्ने वातावरण बन्न सकेन भने अबको १० वर्षमा देशका अधिकांश क्याम्पस बन्द हुने स्थितिमा पुग्ने बताएका छन् । नागरिक उन्मुक्ति पार्टीका गोपाल थापाले शिक्षालाई उत्पादनसँग जोड्न नसके बिद्यार्थीलाई स्वदेशमा स्थिर गर्न निकै गाह्रो हुने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टीकापुर नगर सभापति रवीन्द्र विष्टले शिक्षाको गुणस्तर सुधार्नका लागि राजनीति आस्था र बिचारभन्दा माथी उठेर काम गर्ने क्षमतको नेतृत्व आउनुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका सुरेन्द्र देउकरले शैक्षिक क्षेत्रलाई ब्यापार गर्ने माध्यम बनाइएको भन्दै त्यसमा राज्य जिम्मेवार बन्न आग्रह गरेका छन् । नेकपा एमालेका नगर अध्यक्ष ध्रुव खत्रीले एउटा क्याम्पसमा भन्दा बढी बिद्यार्थी वैदेशिक रोजगारीका लागि र अध्ययनका अध्ययनका लागि बाहिर जान तयारी गर्नुले सरोकारवाला गम्भीर हुन आवश्यक देखिएको बताएका छन् ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नवराज रावलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष मातृकाप्रसाद तिमिल्सिनाले गरेका थिए । कार्यक्रमको सञ्चालन डण्डपाणी पोख्रेलले गरेका थिए ।
सभाले क्याम्पसको नयाँ कार्यसमिति चयन गर्ने छ । नेतृत्वका लागि मातृकाप्रसाद तिमिल्सिना र महेन्द्रबहादुर बम प्रतिस्पर्धामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *