संघीय संसद बिगठनले प्रदेशलाई असर पर्दैन : मन्त्री बोहरा

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ०७ पौष /
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संघीय संसद विघटन भए पनि त्यसले प्रदेशको संसदमा कुनै समस्या नआउने बताएका छन् ।
मन्त्री बोहराले समाधान न्यूज दैनिकसँग कुरा गर्दै पार्टी फुटेको अवस्थामा प्रदेश सरकारलाई समस्या हुन सक्ने भए पनि यही अवस्थामा भएको संसद विघटनले प्रदेशलाई कुनै समस्या नहुने बताएका हुन् । ‘संघीय संसद विघटनले विकास निर्माणका कुराहरुमा कुनै असर पर्दैन । नीतिगत कुराहरुमा भने असर पर्न सक्छ ।’ मन्त्री बोहराले भने, ‘पार्टी फुट्नु हुँदैन । पार्टी फुटेपछि पनि प्रदेश संसदमा असर पर्न सक्छ ।’ उनले संघीय प्रतिनिधि नहुँदा विकास निर्माणका कुनै कामहरु कुनै पनि नरोकिने बताउँदै विनियोजित बजेट कार्यान्वयनको चरणमा रहेकोले विकासको गति निरन्तर चलिरहने बताएका छन् ।
‘प्रदेश सरकार संघीय संसद विघटनको कारणले रोकिँदैन । विकासमा बाधा पु¥याउने काम पनि कहिँ कतैबाट हुनुहुँदैन ।’ मन्त्री बोहराले भने, ‘सबैको प्रमुख एजेण्डा विकास नै हो । विकासमा बाधा पुग्ने गरी कोही अग्रसर देखिनु राम्रो होइन ।’
आर्थिक मामिला तथा योजना मन्त्री बोहराले प्रतिनिधि सभाको निर्वाचनका लागि तय गरिएको मितिमा निर्वाचन भईहाल्ने अवस्था आए पनि निर्वाचनको अवधिमा केही विकास निर्माणका कामहरुमा समस्या आए पनि पछि स्वभाविक रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
संघीय संसद विघटनसँगै प्रदेश संसदको औचित्य नरहेको भन्ने जनगुनासो आइरहेको विषयमा मन्त्री बोहराले हल्लाको पछाडि कसैलाई पनि नलाग्न आग्रह गरेका छन् । ‘संघीय संसद र प्रदेश संसदको कुनै सम्बन्ध छैन । हामी आ–आफ्नै नीति र विधिमा चलेका छौं ।’ मन्त्री बोहराले भने, ‘कुनै संकट नै आइहाल्यो भने मात्र होइन भने संघीय संसदले प्रदेश संसदमा हस्तक्षेप गर्न सक्दैन र पाउँदैन पनि ।’
मन्त्री बोहराले अझै अदालतको निर्णय विचाराधीन रहेको अवस्थामा संघीय संसद विघटन नै भइहाल्यो भन्न नसकिने भन्दै अझै संसद पुनःस्थापनाको आश बाँकी नै रहेको बताएका छन् । संसद विघटनको विषयमा मन्त्री बोहराले पार्टीको आज बस्ने भनिएको केन्द्रीय कमिटीको छलफलले समाधान गर्न सक्ने भन्दै पार्टीले निर्णय गरिसकेपछि मात्र व्यक्तिगत धारणा सार्वजनिक गर्न सकिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *