शेयेर गर्नुहोस
टीकापुर १३ चैत /
कैलालीको टीकापुरमा पहिलोपटक टीकापुर साहित्य महोत्सवको आयोजना हुने भएको छ ।
साहित्यमार्फत सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले टीकापुर साहित्य समाजको आयोजनामा यहीँ चैत २५ गतेदेखि २७ गतेसम्म टीकापुरमा साहित्य महोत्सव आयोजना हुन लागेको हो । टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्य महोत्सवका संयोजक साहित्यकार मोहनविक्रम शाहले महोत्सवको तयारी भैरहेको जानकारी दिनुभएको छ । उहाँले टीकापुरलाई शान्त र सामाजिक सद्भावमा कुनै वैमनस्यता छैन भन्ने सन्देश देशभर पुर्याउनका लागि महोत्सवको आयोजना गरिन लागेको बताउनुभयो ।
” सकारात्मक भन्दा बाहिर अहिले पनि टीकापुरका नकारात्मक कुराहरु बढी हुनेगरेका छन् । त्यसलाई चिर्नको लागि र यसक्षेत्रका सम्भावनाहरुमा साझा बहस चलाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।” संयोजक शाह भन्नुहुन्छ, “राष्ट्रियस्तरबाट सयौं साहित्यकार, राजनीतिक दलका प्रतिनिधि, सामाजिक ब्याक्तित्व लगायतको सहभागिता हुने भएकोले साहित्यसँगै सुदुरपश्चिमको कला, संस्कृति र सम्भावनाको खोजी महोत्सवले गर्ने छ ।”
सुदुरपश्चिम प्रदेश योजना आयोगका सदस्य डा जगतबहादुर सिंह रावलले टीकापुर साहित्य महोत्सव गौरवको विषय बन्ने बताउनुभयो । उहाँले महोत्सव साहित्यलाई जिवन्त राख्नको लागि र साहित्यकार उत्पादनका आगि लाभदायक बन्ने विश्वास व्यक्त गर्नुभएको छ । “सामाजिक सद्भावको लागि एक माध्यम साहित्य कार्यक्रम बन्न सक्छ । हाम्रो सम्बन्धमा कुनै मनमुटाव छैन भन्ने सन्देश पनि साहित्य महोत्सवले दिने छ ।” डा रावलले भन्नुभयो, “टीकापुरप्रतीको नकारात्मक कुराहरूलाई विस्थापित गर्दै सकारात्मक कुराको देशभर प्रवाह गर्ने विश्वास गरेका छौं ।”
साहित्य महोत्सवको अवसर पारेर बर्सेनि लागि हुने गरी विभिन्न बिधामा पुरस्कारको घोषणा समेत गरिने भएको छ । जसअनुसार एक लाख राशिको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार, टीकापुर साहित्य सर्वश्रेष्ठ पुरस्कार ७५ हजार, टीकापुर साहित्य समाज सुदुरपश्चिम प्रतिभा पुरस्कार ५० हजार र टीकापुर साहित्य समाज जेहेन्दार बिद्यार्थी पुरस्कार २५ हजारको वितरण सुरु गरिने भएको हो ।