समृद्धिको सपना युवाले पुरा गर्छन् : शाह

शेयेर गर्नुहोस


टीकापुर ०९ माघ /
गएको भदौ २३ र २४ गतेको घटनाले देशमा परिवर्तन
खोज्यो ।
देशको नेतृत्व युवाहरूको हातमा आउनुपर्ने भन्दै पुराना राजनीतिक दलहरूको विकल्पमा पनि युवाहरूले स्थान पाउनुपर्ने माग सहित भएको त्यो आन्दोलनको जगबाट आउने फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । विभिन्न राजनीतिक दल तथा केहि स्वतन्त्र व्यक्तिले पनि प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । खासगरी युवाहरू देशको राजनीतिको मुल प्रवाहसँगै देशको नेतृत्व गर्ने स्थानमा पुग्नुपर्ने आवाज आन्दोलन पछिका दिनमा विभिन्न दलहरूमा उठे पनि त्यो अन्तिम समयसम्म टिक्न सकेन । प्राय सबै दलले उम्मेदवारका आकांक्षी छनोटमा युवाहरूलाई स्थान दिए पनि टिकट वितरण गर्दा हरेक दल चुके ।
त्यसको आक्रोशमा केहि युवाहरूले राजनीतिक आस्था र बिचार भन्दा माथि रहेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैमध्येका एक हुन तपेन्द्र शाह । उनी अनेरास्ववियु क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष हुन । तर उनको नाम जेनजि युवाको लिस्टबाट उम्मेदवारी सिफारिस भए पनि टिकट वितरणमा उनी परेनन् । टिकट नपाएपछि उनले अहिले कैलाली क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
देशभर पहिचानको मुद्दालाई अपराधिकरण गर्ने प्रयास भइरहेका बेला कैलाली क्षेत्र नं. १ ले त्यसको प्रतिरोध गर्दै आफ्ना नतिजामार्फत उत्पीडित समुदायहरूको पक्षमा साहसिक भूमिका खेल्नका लागि आफुले उम्मेदवारी दिएको बताए । आफु सधैं परिवर्तनको पक्षमा र अन्यायका विरुद्ध उभिने भन्दै शाहले यस माटोप्रति गहिरो कृतज्ञता व्यक्त गरे ।
यसपटक पनि कैलाली क्षेत्र नं. १ ले परिवर्तनप्रतिको आफ्नो ऐतिहासिक भूमिका कायम राखोस् भन्ने आफ्नो दृढ विश्वास रहेको उल्लेख गर्दै शाहले युवाहरूले खोजेको रुपान्तरण राजनीतिक दलहरूभित्र पनि देखिनु पर्ने धारणा व्यक्त गरेका छन् ।
युवामैत्री प्रतिनिधित्व अघि सारिनु पर्ने माग आफू उभिएको ठाउँबाट निरन्तर उठाए पनि त्यो प्रयास सफल हुन नसकेको भन्दै शाहले पुरानै शैलीमा दलहरू अघि बढेपछि त्यससँग सम्झौता गर्न नसकी स्वतन्त्र रूपमा अघि बढ्नुपर्ने अवस्था आएको स्पष्ट पारेका छन् । उनले दलगत आस्था र बिचारले मात्रै परिवर्तन सम्भव नभएको बताउँदै समृद्धिको इतिहास युवाहरूले रच्ने भएको हुँदा सबैलाई युवाको नेतृत्वलाई सहयोग गर्न अपिल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *