सिँचाइ विद्युतिकरण नगर गौरवको आयोजना

शेयेर गर्नुहोस


भजनी ०५ भदौ /
स्थानीय तहले पालिकाको महत्त्वपूर्ण आवश्यकतालाई गौरवको आयोजनाको रुपमा अघि सार्ने गरेका छन् ।
त्यसमा पालिकाको आवश्यकतालाई आधारम मानेर क्रमागत रुपमा बजेट विनियोजन हुनेगरी नगर गौरवको आयोजनालाई अघि सार्ने काम भएको हो । त्यसैअनुसार भजनी नगरपालिकाले कृषि क्षेत्रको विकासमा जोड दिने उद्देश्यले कृषिमा सिँचाइ विद्युतिकरणको अवधारणा अघि सारेको छ । चालू आर्थिक वर्षमा सिँचाइ विद्युतिकरण योजनालाई नगर गौरवको आयोजनाको रुपमा अगाडि बढाइएको छ । जसका लागि चालू आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ ।
“भजनीमा अधिकांशको पेशा कृषि छ । भजनी आत्मनिर्भर हुने आधार मध्येको महत्त्वपूर्ण आधार पनि कृषि क्षेत्र हो । नगरपालिकाका नगर प्रमुख केवल चौधरी भन्छन्, “त्यसकारण हामीले किसानको खेतसम्म विद्युत सेवा विस्तार गर्ने गरी नगर गौरवको आयोजना अधि सारेका छौँ ।” किसानको खेतसम्म विद्युत लाइन पुगेको खण्डमा किसानलाई सिँचाइका लागि समस्या नहुने र त्यसबाट किसानले आफ्नो अनुकुल व्यावसायिक कृषि खेतीलाई अघि बढाउने विश्वास गरेको छ ।
“हाम्रो क्षेत्र निकै डुवानमा पर्छ । वर्षे बाली उत्पादन नहुने हुँदा त्यसको विकल्प चैते धानलाई नगरपालिकाले प्राथमिकतामा राखेर किसानसँग समन्वय गरिरहेको छ ।” नगर प्रमुख चौधरीले भने, “चैत धानका लागि गर्मी याममा प्रयाप्त सिँचाइको सुविधा हुँदैन । यदि किसानको खेतखेतसम्म विद्युत सेवा विस्तार भए चैते धानमा थप किसानलाई आकर्षित गर्न सकिनेछ ।” नगरपालिकाले बढी डुवान हुने क्षेत्रमा वैकल्पिक खेतीका लागि पनि छलफल चलाउने नगर प्रमुख चौधरी बताउँछन् ।
नगरपालिकाले बढी डुवान क्षेत्रमा उखु खेती विस्तारका लागि किसानलाई प्रेरित गर्ने तयारी गरेको छ । उत्पादन भएको उखुको नेपाली बजारमा बजारीकरणको समस्या देखिएकोले त्यसलाई भारतिय बजारसम्म निर्यातको लागि समन्वय र छलफल गरेर त्यसमा विशेष प्याकेज ल्यान सकिने नगरपालिकाले जनाएको छ । “उखु खेतीमा डुवानले पनि असर गर्दैन । हुनुपर्ने जति उत्पादन भैहाल्छ ।” नगर प्रमुख चौधरीले भने, “समस्या बजारीकरणको हो । त्यसको समाधानका लागि नगरपालिकाले पहल गरिरहेको छ । हामी छिट्टै निचोडमा पुग्छौं ।”
खेतमा विद्युत सेवा विस्तार भएसँगै किसानलाई सहुलियत मुल्यमा विद्युत सेवाका लागि नेपाल विद्युत प्राधिकरणसँग नगरपालिकाले छलफल समेत चलाइसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *