शेयेर गर्नुहोस
भजनी ११ असोज /
स्थानीय तहलाई महालेखा परिक्षणको कार्यालयले असुल उपर गर्न भन्दै प्रतिवेदनमा देखाएको बक्यौता रकम असुल गर्न निकै मुस्किल हुन थालेको छ । आन्तरिक स्रोत व्यवस्थापनका लागि आफ्नो क्षेत्र भित्र रहेको सरकारी स्वामित्वको आम्दानीको क्षेत्रलाई ठेक्का लगाउँदा भएको सम्झौता अनुसार रकमको भुक्तानी नहुँदा स्थानीय तहको बक्यौता बर्सेनि थपिँदै जाँदा असुल गर्न निकै मुस्किल देखिएको हो । राजनीतिक दाउपेचका आधारमा भएका ठेक्का सम्झौताका कारण कतिपय स्थानीय तहलाई बक्यौता रकम निकै टाउको दुखाइको विषय बनेको छ । त्यसको एक उदाहरण हो कैलालीको भजनी नगरपालिका ।
नगरपालिकाले तालतलैया र नदी ठेक्का बर्सेनि लगाउँदै आएको भए पनि तालतलैयाको करोडौं रकम बक्यौता पुगिसक्दा पनि असुल हुन सकेको छैन । बर्सेनि महालेखा परिक्षणको कार्यालयले बक्यौता असुलउपर गर्न भन्दै नगरपालिकालाई ताकेता गर्दै आएकको छ । हालसम्म नगरपालिकाले तालतलैयाको पाँच करोड ५६ लाख बक्यौता उठाउन बाँकी रहेको छ । जुन रकम साविकको भजनी त्रिशक्ति नगरपालिका हुँदाको पनि त्यसैमा जोडिएर आएको नगरपालिकाका राजश्व शाखा प्रमुख चिरञ्जीवी उपाध्याय बताउनुहुँन्छ । नगरपालिकाले हालसम्म तालतलैयाबाट दुई करोड ६२ लाख रुपैयाँ मात्रै उठाउन सकेको छ । उठेको रकम भन्दा दोब्बर बढी रकम उठ्न सकेको छैन ।
असोज ६ गते आइतबारको निर्णय अनुसार भन्दै १५ दिनभित्र तालको बक्यौता बुझाउन भन्दै सुचना जारी गरेको छ । जसमा २८ वटा ठेक्का योजनाको नाम सार्वजनिक गरिएको छ । २०७५ सालमा ठेक्का सम्झौता सकिएर ताल अर्कैले ठेक्का पाइसकेको तालको पनि बक्यौता देखिएको छ । नगरपालिकाको वडा नं. ९ स्थित घोर तालको ठेक्का २०७५ सालमा सकिएको थियो । त्यसबेला तालको ठेक्का फुलराम चौधरीले पाएका थिए । २०७५ मा तालको पुनः नयाँ ठेक्का भएर अहिले उक्त ताल प्रेमबहादुर भुलको मातहतमा छन् । तर, फुलरामले २०७५ साल पहिलेकै उक्त तालको ११ लाख चार हजार पाँच सय ९२ रुपैयाँ ५० पैसा बक्यौता तिर्न बाँकी रहेको राजश्व शाखा प्रमुख उपाध्यायले बताउनुभयो ।
२०७५ सालमा नयाँ ठेक्का भएपछि तालको ठेक्का पाएका प्रेमबहादुर भुलले घोर तालको मात्रै एक करोड ९२ लाख चार हजार तीन सय ६० रुपैयाँ ८ पैसा बक्यौता तिर्नुपर्ने देखिएको छ । फेरि उहाँलाई तालको प्रयोग गर्न नपाएको भन्दै कार्यपालिका बैठकले तालको म्याद २०८५ सम्म थप गर्ने निर्णय गरेर तालको म्याद थपको पत्र पनि पठाएको छ । उहाँको नाममा सोनिया रुपिया नुक्ली तालको एक करोड ५० लाख ६८ हजार एक सय ६७ रुपैयाँ ११ पैसा बक्यौता देखिएको छ ।
उता नगर प्रमुख केवल चौधरीले बक्यौता रकमको विषयमा कठोर भएर प्रस्तुत हुने बाध्यता भएको बताउनुहुन्छ । उहाँले तिर्छु भनेर गरेको सम्झौता अनुसारको रकम ठेकेदारले तिर्नैपर्ने बताउनुभयो । “तिर्छु भनेको पैसा सबैले तिर्नुपर्छ । त्यसबाट कसैले छुट पाउला भन्ने नसोचे हुन्छ ।” नगर प्रमुख चौधरीले भन्नुभयो, “ताकेता गर्दागर्दै पनि भएन भने अन्तिममा अदालतसम्म पुग्छौं । अदालतले दिएको फैसला अनुसार अगाडि बढ्छौं ।” संघ र स्थानीय तह बीचको कानुन बाझिएका कारण कैयौं समस्या सामना गर्नुपरेको नगर प्रमुख चौधरीको गुनासो छ ।
कैलालीकै टीकापुर नगरपालिकामा पनि व्यापारिक प्रयोजनका लागि भाडामा दिएका सपिङ्ग कम्प्लेक्सको भाडा बक्यौता एक करोड ९६ लाख छ । नगरपालिकाले २०७५ साल देखि भाडामा लगाएका सपिङ्ग कम्प्लेक्सको भाडा तिर्नको लागि नगरपालिकाले भदौ ३० गते सूचना जारी गर्दै असोज १५ गतेभित्र बक्यौता तिर्न सुचना जारी गरिसकेको छ । त्यो अवधीमा बक्यौता नतिर्ने व्यापारी विरुद्ध कानुनी उपचार खोजिने बताएको छ ।










