शेयेर गर्नुहोस
झलनाथ खनाल, भजनी २४ साउन /
विगतका वर्षझै यसवर्ष पनि भजनी नगरपालिकामा डुवान सुरु भएको छ ।
पथरैया, काढा र कान्द्रा नदीका कारण भजनी नगरपालिकाका अधिकांश क्षेत्र बर्सेनि डुवानमा पर्दै आएका छन् । अन्य साना नालीहरुले पनि भजनीलाई डुवानमा पार्छ । सोमबार परेको अविरल वर्षाका कारण भजनीका अधिकांश क्षेत्रमा डुवान सुरु भएपछि त्यस क्षेत्रका नागरिकहरु सुरक्षित स्थानको खोजिमा लागेका छन् । केही सामुदायिक बिधालयमा आश्रय लिन पुगेका छन् भने कतिपय उच्च सेल्टरमा र हुलाकी सडकमा पुगेका छन् । यो नियती भजनीका लागि नौलो होइन । बर्सेनि साउनदेखि असोज नलाग्दासम्म बाढी र डुवानको त्रासमा जीवनयापन गर्नु त्यसक्षेत्रको बाध्यता जस्तै बनिसकेको छ ।
भजनी नगरपालिका वडा नं. ८ की मनादेवी बमका छोरा अपांग छन् । बर्खा लागेपछि उनको चिन्ता घरको जायजेथामा मात्रै नभई अपांग छोरालाई व्यवस्थापन गर्न पनि हुन्छ । मंगलबार पनि मनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा व्यवस्थापन गरेको छ । “पीडा कति छ त्यो सुनाएर सुनिदिने कोहि छैन । यो नियति हो,भोग्नै पर्छ र भोगेका पनि छौँ ।” मनाले भनिन्, ” बर्खामा घर छोडेर नगएको सायद कुनै वर्ष छैन होला । बाढीका कारण जनजीवन अस्तव्यस्त हुन्छ, के गर्नु ? सहनै पर्यो ।”
पत्रकार खेमराज पाण्डे पनि मंगलबारको बाढीले घर छोडेर सुरक्षित स्थानमा लागेका छन् । घरको जायजेथा सबै छट्क्कै छोडेर जाँदा निकै पीडा महसुस हुनेगरेको पाण्डे बताउँछन् । “ज्यान बचाउनका लागि पनि घर छोडेर सुरक्षीत स्थानमा जानुको विकल्प छैन । घर छोडेर जाँदा पनि कहाँ व्यवस्थापन गरेर जाने भन्ने पिर हुन्छ ।” पाण्डेले भने, “पीडा आजको होइन, बर्सेनि आउने पीडा हो । पिडालाई सधैका लागि समाधान गर्ने कोहि छैनन् । पीडा भएपछि आउँछन् झन घाउ कोट्याएर जान्छन् ।” बाढीले बालबालिका, जेष्ठ नागरिकहरुलाई र पशु चौपायाहरु बढी समस्यामा परेका छन् ।
वडा नं.३ का मियामत अलि र मनोहर अलिको घर काढा नदीले बगायो । मियामतको घरसँगै अर्को पनि घर बाढीमा बग्यो । बाढीले कैरीको घरमा मात्रै होइन सपना पनि बगाएको छ । “कसलाई भनौं घर बगायो भनेर । कसलाई सुनाउ मेरा सपना बाढीले बगायो भनेर । कसले सुनिदिन्छ, हाम्रो कुरा ? मियामतले प्रश्न गरे, “हाम्रा कुरा सुन्ने भनेको त निर्वाचनको बेला हो । आफ्नो स्वार्थ फुत्किने बेला मात्रै हो । आज तिम्रो तिर के हुँदैछ भनेर सोध्ने कोहि हुँदैन ।” उनले बर्खाको समय कहाँ गएर काट्ने भन्ने चिन्ताले पिरोल्न थालेको बताएका छन् । “आफुसँग घर छैन । आफन्तकोमा कति दिन बस्न सकिएला । एक्लै भए पनि एउटा कुरा हो, सिंगो परिवार छ ।” उनले भने, “सरकार छ भने केही सहयोग गर्ला ।” उनी लगायत दुबै परिवारलाई नेपाल रेडक्रस सोसाइटीले मंगलबार नै राहत सामाग्री दिएको छ ।
उता नगरपालिकाले पनि आफ्नो क्षेत्रबाट गर्ने तयारी गरिराखेको बताएको छ । नगरपालिकाको तयारीमा पनि किनै फेरबदल हुनसकेको छैन । नगरपालिकाको स्रोतसाधनले भ्याउने काममा कुनै कन्जुस्याइँ नगरेको नगर केवल चौधरी बताउँछन् । विपत फोकलपर्सन विष्णुप्रसाद न्यौपानेले मंगलबारको बाढीले नगरपालिकाका अधिकांश क्षेत्र डुवानमा परेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, नेपाल रेडक्रस र स्थानीयको सहभागितामा उद्वारको काम भएको बताएका छन् ।
उनका अनुसार नगरपालिका प्रतिकार्यका लागि तयारी अवस्थामा बसेको छ । तर तत्काल आवश्यक राहतको लागि भने नगरपालिकाले पहल गरेको छैन । “राहतको सामग्री तत्काल खरिद भएको छैन । तर पनि जिम्मेवार भने हामी छौं ।” न्यौपानेले भने, “जनप्रतिनिधिहरु पनि आफ्नो क्षेत्रबाट लाग्नुभएको छ । अहिलेको हाम्रो तयारी भनेको प्रतिकार्यमा नै छ भन्नुपर्छ ।” नगरपालिकामा चारवटा रबर बोट छ । जुन जहाँ आवश्यक पर्छ त्यसैअनुसार प्रयोगमा ल्याउने तयारी नगरपालिकाको छ । बाढीका कारण लगाएको धान बाली पनि बर्सेनि नष्ट हुँदै गएको छ ।
स्थानीयको बाध्यतासँग वर्षौंदेखि सँगसँगै रहेका अनुहार पनि उद्वारमा दिनभर व्यस्त हुन्छन् । अरुभन्दा पाको उमेर । जुन अहिले पनि नागरिकहरुको सुरक्षाक लागि रातदिन खटेको छ । त्यसमा उनका सहयात्रीहरुको साथ छ । “हाम्रो बाध्यता हो । हाम्रो बजेटले भजनी डुवानबाट बचाउन सकिने भए सबै बजेट यसैमा खर्च गर्न हुन्थ्यो । त्यो सम्भव नै छैन । भजनीको २० वर्षको बजेटले पनि नदे नियन्त्रण हुन सक्दैनन् ।” नागरिकहरूको राहत र उद्वारमा लागेका नगर प्रमुख केवल चौधरी भन्छन्, “संघीय सरकारबाट हो आशा गर्ने त्यहाबाट पनि अहिलेसम्म केही भएको छैन । हाम्रो कुरा सुनिदिने कोहि छैन ।” मंगलबारदेखि नगर प्रमुख चौधरी, कैलाली क्षेत्र नं. ३ का संघीय सांसद गंगा चौधरी, स्थानीय जनप्रतिनिधि प्रभावित क्षेत्रमा उद्वार तथा राहतको काममा निकै व्यस्त देखिएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्ना सांसदहरुलाई आफ्नो क्षेत्रमा खटिन निर्देशन दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत निर्देशन दिएका हुन । “माननीय गंगाराम डगौरा कैलाली, कञ्चनपुर र माननीय लालबीर चौधरीलाईबर्दियामा तुरुन्त आफ्नो कार्यक्षेत्रमा गएर बाढिपिडितको राहतमा खटिनहुन नागरिक उन्मुक्ति पार्टीको निर्देशन रहेको कुरा जानकारी गराउन चाहन्छौं । साथै सबै कार्यकर्ताहारु पनि उद्वारमा खटिनहुन पार्टी अनुरोध गर्न चाहन्छ ।” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।