६८ औ विश्व कुष्ठ रोग दिवस सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर १९ माघ /
६८ औं विश्व कुष्ठ रोग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
आइतबार टीकापुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा टीकापुर नरगपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले अझै अन्धविश्वासबाट समाजले छुटकारा नपाएको बताएका छन् । ‘कुष्ठ रोग सरुवा रोग हुँदाहुँदै पनि समयमै उपचार गर्न सके निको हुने रोग हो । यसलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण फरक भएका कारण बिरामीहरु खुल्न चाहँदैनन् ।’ नगर प्रमुख रावलले भने, ‘समाजमा अझै पनि अन्धविश्वासले जरा गाडेर बसेको छ । अन्धविश्वासबाट छुटकारा नपाएसम्म हामी सक्षम नागरिक पनि बन्न सक्दैनौं ।’
टीकापुर नरगपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख बलबहादुर रावलले अझै पनि समाजमा कुष्ठ रोगीहरु रहेको बताउँदै उनीहरु खुल्न नसकेकै कारण नेपाल सरकारको कुष्ठ रोग निवारण कार्यक्रम सफल नभएको बताएका छन् । उनले विभेदलाई सूचनामा ल्याउने र जनशक्ति व्यवस्थापन लगायतका चुनौतीका कारण पनि समस्या हुँदै आएको बताउँदै सही जानकारी र प्रचार–प्रसारका साथै जनचेतना अधिबृद्धिका कार्यक्रमहरु गर्न आवश्यक रहेको बताएका छन् ।
आर्थिक वर्ष २०७६÷०७७ को असार मसान्तसम्म १ हजार ८ सय ५३ जनामा कुष्ठ रोगको लक्षण देखापरेको बताउँदै स्वास्थ्य शाखा प्रमुख रावलले केही समयसम्म २ हजार ४४ जना उपचार गराइरहेको तथ्याङ्क रहेको बताएका छन् ।
त्यस्तै, १४ वर्षमुनिका १ सय ४१ जना, अन्तिम अवस्थामा रोग पत्ता लागेका १ सय १ जना, १४ वर्षमुनिका ६ जना, महिला ७ सय ७० जना महिलामा कुष्ठ रोगको लक्षण देखिएको तथ्याङ्क छ भने १ हजार २ सय ५५ जना बिरामीमा सर्ने खालको कुष्ठ रोगको लक्षण देखिएको छ ।
टीकापुर नगरपालिकामा १ लाखमा १ दशमलव ०४ प्रतिशत कुष्ठ रोगी रहेको स्वास्थ्य शाखा प्रमुख रावलले बताएका छन् । उनले चालु आर्थिक वर्षमा खोज पड्ताल कार्यक्रम, विद्यालयमा जनचेतना तथा चेकजाँच कार्यक्रम र उच्च जोखिममा रहेका बिरामीको खोज पड्ताल कार्यक्रम रहेको बताएका छन् ।
सात दिने तालिम सम्पन्न
त्यसैगरी, टीकापुर नगरपालिकाको आयोजनामा स्वास्थ्यकर्मीहरुको बृहत् पोषण प्याकेज तथा क्षमता अभिबृद्धि सम्बन्धी सात दिने तालिम सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बोल्दै नगरपालिकाका नगर प्रमुख तपेन्द्र–बहादुर रावलले शिक्षा र स्वास्थ्य विकास निर्माणको महत्वपूर्ण पाटो भएको बताएका छन् । ‘हाम्रो पूर्वाधार–लाई मात्र विकास हो भन्ने मानसिकता छ ।’ नगर प्रमुख रावलले भने, ‘शिक्षा र स्वास्थ्य पूर्वाधार विकासभन्दा पनि बढी महत्वपूर्ण छ । स्वास्थ्य पनि एक विकास हो । त्यसमा नगरपालिकाको प्रयास निरन्तर जारी छ ।’
समापन कार्यक्रममा जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख बलबहादुर रावलले कम तौल हुनु मात्र पोषणको सिकार नभई मोटोपना हुनु पनि एक किसिमको कुपोषण भएको बताएका छन् । उनले खानपिनको समस्याका कारण पछिल्लो समयमा कम तौलको भन्दा मोटोपनाको कुपोषण बढ्दै गएको बताउँदै त्यसमा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
नगरपालिकाअन्तर्गतका स्वास्थ्य चौकी तथा सहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागितामा उक्त तालिम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन कमल रावलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *