एमसीसी प्रकरण : तल्लो तहका नेता पनि विभाजित

शेयेर गर्नुहोस

झलनाथ खनाल, टीकापुर ०५ फागुन/
अमेरिकन सहयोग परियोजना एमसीसीका कारण देशको राजनीति उथलपुथल भएको छ ।
यहीँ फागुन १६ गतेभित्र जसरी पनि एमसीसी संसदबाट पास गर्नुपर्ने बाध्यता छ । होइन भने, अमेरिकन सहयोग परियोजना फिर्ता जाने भन्दै सरकार जुनसुकै हालतमा पनि फागुन १६ भित्र एमसीसी संसदबाट पास गर्ने रणनीतिमा देखिएको छ । एमसीसीकै कारण पाँच दलिय गठबन्धन बिभाजन हुने सम्भावना समेत बढ्दै गएको छ । नेकपा माओवादी केन्द्रले एमसीसी संसदबाट पास हुने अवस्था आए सरकारबाटै बाहिरिने निर्णय गरेको छ भने नेकपा एकीकृत समाजवादी पार्टी पनि एमसीसीको विरुद्धमा देखिएको छ । सरकारलाई समर्थन गरेका साना दलहरू एमसीसीको विपक्षमा देखिएको अवस्थामा जनता समाजवादी पार्टी भने त्यस विषयमा विभाजित देखिएको छ ।
अहिलेसम्म नेकपा एमालेले भने आफ्नो धारणा बाहिर ल्याउन सकेको छैन । त्यसले तल्लो तहका नेता तथा कार्यकर्ताहरु पनि एमसीसीको विषयमा बिभाजन भएको अवस्था छ । त्यस्तै सरकारमा रहेको जनता समाजवादी पार्टी पनि यसमा विभाजित भएको देखिन्छ । पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई पक्षधरहरु एमसीसीको पक्षमा रहेपनि पार्टी अध्यक्ष उपेन्द्र यादव पक्ष त्यसको विपक्षमा देखिएका छन् ।
एमसीसीको विषयमा केन्द्रदेखि स्थानीय तहसम्म काँग्रेसको भने समान धारणा देखिएको छ । नेपाली काँग्रेसका कैलाली क्षेत्र नं. १ का सभापति प्रकाश शाहले एमसीसी पास गर्नुपर्ने बताएका छन् । उनले एमसीसीको विषयमा अफवाह बढी फैलाइएको बताउँदै त्यसको वास्तविकता बुझेर मात्रै विरोधमा उत्रिन आग्रह गरेका छन् । “अब कागले कान लग्यो भनेर कागको पछाडि दौडने कि पहिला आफ्नो कान छोप्ने ? कुरा यहीँ भएको छ ।” क्षेत्रीय सभापति शाहले भने, “एमसीसीको अध्यन गर्न पहिला जरुरी छ । बाहिर आएका तथ्यहिन कुराको पछाडि लाग्नेहरुले रचेको एक षड्यन्त्र मात्रै हो ।”
उनले नेपाको कानुन भन्दा माथी एमसीसी हुन नसक्ने प्रधानमन्त्रीले नै बताइसकेको बेला चिनको पैसाले टाइ र सुट लगाउनेहरुले चौतर्फी विरोध गरेको बताएका छन् । “बाहिर विरोध गरेर केही हुँदैन । यदि एमसीसीको विपक्षमा भएकाहरुले संसदमा विपक्षमा मतदान गरेर देखाउन सक्नु पर्यो ।” शाहले भने, “बिचमा रहेर आफुलाई सुरक्षित राख्न खोज्नेहरुको औचित्य छैन । एमसीसी विकाससँग जोडिनुपर्छ ।”
नेकप एमालेका कैलाली जिल्ला अध्यक्ष श्याम खत्रीले अहिलेसम्म पार्टीको आधिकारिक धारणा आइनसकेको बताउँदै आफुहरु ब्याक्तिगत रुपमा एमसीसीको विरोधमा रहेको बताएका छन् । “पार्टीको धारणा आइसकेपछि के हुन्छ त्यो अहिले नै भन्न सकिने अवस्था छैन । तर पनि जुन एमसीसी संसदबाट नै पारित गर्नुपर्ने अमेरिकाको रणनीतिको हामी विरोधी हो । त्यसमा हाम्रो समर्थन रहन सक्दैन ।” खत्रीले भने, “यदि एमसीसी नेपालको हितमा छैन भने हामी पार्टी भन्दा माथी रहेर राष्ट्रको पक्षमा उभिनेमा कुनै शंका छैन । जसरी अन्य राष्ट्रहरुले नेपाललाई सहयोग गर्दै आएको छ । त्यसैगरी एमसीसी पनि पास हुनुपर्छ ।”
जनता समाजवादी पार्टीका नेता हरि तिमिल्सिनाले एमसीसीको आवस्यकता भन्दा बढी प्रचार भएको बताउँदै नेपालले यस्ता सहयोगहरु लिनुपर्ने बताएका छन् । “राष्ट्रको हित विपरीत भए त्यो नेपाल र नेपालीका लागि स्विकार्य हुन सक्दैन । तर, सहयोगी राष्ट्रहरुले दिएको सहयोग नेपालले लिनुपर्छ । नेपाल द्वन्दबाट शान्ती प्रक्रियामा आएको बेला सुरक्षाको ग्यारेन्टीको लागि संसदबाट एमसीसी पास गर्न खोजिएको हो ।” तिमिल्सिनाले भने, “एमसीसीसँग साम्राज्यवाद आउँछ भन्नू गलत हो । यसलाई सहजरूपमा लिएर पास गरि दिएको सहयोग लिन सकिन्छ ।”
लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले नेपालको स्वाधीनता नेपालीको स्वतन्त्रता र राष्ट्रिय हित विपरीतको एमसीसीका प्राबधानहरु आँखा चिम्लेर बिदेशी स्वार्थ र दबाबका सामु आत्मसमर्पण गर्नु देश र जनता प्रती ठुलो गद्दारी भएको बताएका छन् । उनले एमसीसी चाहन्न भन्ने स्वाधीन नेपाली जनमतको दबाबलाई बेवास्ता गर्ने र बिदेशी सामु घुडा टेक्नु नेपाल र नेपाली सामु ठूलो गद्दारी हुने बताउँदै एमसीसी कुनै हालतमा पनि पास गर्न नहुने बताएका छन् ।
बुधबारको प्रतिनिधि सभाको बैठकमा एमसीसी प्रवेश गराउने भनेपछि केही साना दलहरूले नेपाल बन्दको आव्हान समेत गरेका थिए भने, देशभर एमसीसीको विरोधमा दिनभर प्रदर्शन समेत भएको थियो । बुधबारको संसद बैठकमा एमसीसी प्रस्ताव ल्याउने कार्यसुची भने राखिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *