एम्बुलेन्स चालकको पीडा, आफ्ना कारण परिवार त्रासमा

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०४ जेठ /
बिरामिहरुका लागि एक महत्त्वपूर्ण माध्यम हो एम्बुलेन्स । अहिले कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरुको सेवामा लागेका एम्बुलेन्स चालकहरुको पीडा पनि कम छैन । सबै महामारीको समयमा घरमा सुरक्षीत भएर बस्दा संक्रमित हो भन्ने थाहा पाउँदा पाउदै पनि बिरामीका लागि दौडिरहेका एम्बुलेन्स चालकलाई आफुलाई भन्दा बढि चिन्ता यो समयमा आफ्नो परिवारको रहेको देखिएको छ ।
कैलालीको टीकापुरका लोकेन्द्रबहादुर ठकुरी टीकापुर अस्पतालको एम्बुलेन्स चलाउनुहुन्छ । त्यो पनि कोरोना संक्रमितहरुलाई बोक्नको लागि मात्रै । सुरुवाती दिनहरुमा निकै अप्ठ्यारो भएको बताउदै लोकेन्द्रले अहिले कुनै आफुलाई कुनै मतलब नै नहुने गरेको बताउनुभयो । तर काम गर्दै जादा त उहाँलाई कुनै संकोच हुदैन तर घर जाने समयमा सबैभन्दा बढी सोच्नुहुन्छ । कतै म पनि संक्रमित त भएको छैन ? लोकेन्द्रको ४ जनाको परिवार छ । घर पुग्दा सबैभन्दा बढी चिन्ता छोराछोरीको हुने गरेको लोकेन्द्र बताउनुहुन्छ । “अस्पतालले बस्नको लागि क्वाटर त दिएको छ । खाना खान घरै जानुपर्छ । घर जादा छुट्टै घरबाहिरबाटै खाना खाएर निस्कन्छु ।” लोकेन्द्रले भने, “मनले नमान्दो रहेछ । छोराछोरी नजिक परिहान्छन । दिनभर संक्रमित बोकेर घर जादा घरमा पनि त्रास हुन्छ । आफुलाई पनि ।” अस्पतालमा कोरोना संक्रमितहरुलाई बोक्नको लागि छुट्टै एम्बुलेन्स छ । प्राय अन्य एम्बुलेन्स गाउँबाट संक्रमित ल्याउनुपर्ने भए जादैनन । बाहिर रिफर गरिएका बिरामीहरुलाई भने अन्य एम्बुलेन्सले नै बोक्ने गरेका छन ।
“पहिले त धेरै डर लाग्थ्यो । कामै संक्रमित बोक्ने भएपछी बिस्तारै सबै डर हराएको छ ।” लोकेन्द्रले भन्नुभयो, “डर त्यतिबेला लाग्छ जतिबेला घर जाने समय हुन्छ । आफ्नो भन्दा बढी अरुलाई सर्ने होकि भन्ने हुन्छ ।”
टीकापुरका कृष्णबहादुर शाही २०६४ साल देखि टीकापुर अस्पतालको एम्बुलेन्स चलाउदै आउनुभएको छ । शाहीले चलाउने एम्बुलेन्स अन्य एम्बुलेन्स भन्दा छिटो कुद्ने भएका कारण उहाँले फुर्सद प्राय कम पाउनुहुन्छ । आफुमा त त्यस्तो त्रास नभएपनी घरपरिवार भने सधै त्रासमै रहेको शाही बताउनुहुन्छ । “हामी एम्बुलेन्स चालक सबैभन्दा बढी जोखिममा छौ । दिनभर बिरामी बोक्नुपर्छ । साझ घर पुग्दा घरमा त्रासको बाताबरण हुन्छ ।” शाहीले भन्नुभयो, ” हामी त जोखिममा छौ नै हाम्रा कारणले परिवार समेत जोखिममा छ ।” उहाँले आफ्ना कारण परिवार मात्रै नभई छिमेकीहरुमा समेत त्रास रहेको बताउनुभयो । एम्बुलेन्स चालकमा परिवारबाट छिमेकीहरुपनी टाढिएका छन । त्यसले परिवारमा झन मानसिक चिन्ता थपेको उहाँहरुको गुनासो रहेको छ ।
कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ताको ब्यबस्था गरिएको भएपनी एम्बुलेन्स चालकहरूले खाइपाई आएको भन्दा अन्य कुनै सुबिधा नपाएको गुनासो गरेका छन । त्यति मात्र नभई संक्रमित बोक्दा पिपिई समेत पाउन नसकिएको गुनासो एम्बुलेन्स चालकको रहेको छ । टीकापुर अस्पतालले भने बिरामी र चालकको समन्वय नहोस भन्दै पाटेसन गरेको भएपनी अन्य संस्थागत एम्बुलेन्स चलाउने चालकहरूमा झनै जोखिम देखिएको छ ।
टीकापुरकै मुक्तिप्रसाद भट्टले नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको एम्बुलेन्स चलाउनुहुन्छ । १० बर्षदेखी एम्बुलेन्स चलाउदै आउनुभएका भट्टले थुप्रै बिरामीहरुलाई एम्बुलेन्समा सवार गरेको भएपनि अहिले जस्तो कठिन मोड यो भन्दा पहिला कहिल्यै नआएको बताउनुभयो । उहाले मनभित्र जतिसुकै त्रास भएपनि काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । “बस्नकोलागी अफिसमै बसेपनी खाना खान घर जानुपर्ने भएका कारण घरमा छुट्टै त्रास हुन्छ ।” भट्टले भन्नुभयो, ” परिवारसंग बसेर खाने भलाकुसारी गर्ने रहर भएपनी घरको बरण्डाबाटै खाना खाएर फर्किनुपर्छ ।”
उहाँले कैयौं संक्रमितहरुलाई सेवा दिएको भएपनी उच्च मनोबल र सावधानीका कारण कोरोनाको संक्रमणले छुन नसकेको बताउदै स्वास्थ्य सावधानी र उच्च मनोबल नै कोरिनाको औसधि भएको बताउनुभएको छ ।
टीकापुर अस्पतालको समन्वयमा अहिले ८ एम्बुलेन्स संचालनमा रहेका छन । गाउँसम्म कोरोनाको संक्रमण फैलिएको हुदा सुरुमै कुन कोरोना संक्रमित हो भनेर छुट्याउन समस्या भएका कारण पनि एम्बुलेन्स चालक बढी जोखिममा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *