कर्मचारीका लागि क्षमता विकास तालिम

शेयेर गर्नुहोस


टीकापुर २२ बैशाख /
टीकापुर बहुमुखी क्याम्पसमा कर्मचारीहरुका लागि तीन दिने क्षमता विकास तालिम सुरु भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा अनुसन्धान समिति टीकापुर बहुमुखी क्याम्पसको आयोजनामा बिहिवारदेखि तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै सुदुरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकले कार्यालय व्यवस्थापनमा कर्मचारीहरुको भुमिका निकै महत्त्वपूर्ण हुनेगरेको बतएका छन् । उनले काममा इमानदार भएर काम गर्न कर्मचारीलाई आग्रह गर्दै कसैको दबाबमा नपरेर नीति र बिधिमा रहेर कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नुपर्ने बताएका छन् ।
“आफुभन्दा माथिल्लो तहकाले दबाब दियो भन्दैमा कानुनले स्वीकार नगर्ने काम गर्नु हुँदैन । त्यस्तोमा आफ्नो अडान पनि लिन सक्नुपर्छ ।” विश्वविद्यालयका रजिस्ट्रार पाठकले भने, “त्यसका लागि तालिमले पनि महत्त्वपूर्ण सिकाइ हासिल गर्न सकिन्छ । माग भएअनुसार विश्वविद्यालयले पनि यस्ता तालिमहरु सञ्चालन गर्न सक्छ ।” उनले सञ्चालन हुने तालिम उपलब्धि मुलक हुनुपर्ने भन्दै तालिमलाई अनुभव आदानप्रदान गर्ने स्थानको रुपमा पनि लिन सकिने बताएका छन् ।
विश्वविद्यालयको परिक्षा प्रणाली निकै खस्किदो स्थितिमा रहेको बताउँदै विश्वविद्यालयका रजिस्ट्रार पाठकले त्यसमा चिन्ता गर्न आग्रह पनि गरेका छन् । झन्झटिलो परिक्षा प्रणालीका कारण पनि पठनपाठनमा समस्या आउन थालेको उनको भनाइ छ । “वर्षमा दुई सय ३ दिन परिक्षाको प्रक्रियामा जाँदो रहेछ । त्यसमध्ये कति दिन पठनपाठन हुन्छ होला ?” रजिस्ट्रार पाठकले भने, “हामीले परिक्षाको मापदण्ड परिमार्जनका लागि पनि छलफल गरिरहेका छौं ।”
कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशरबहादुर कुँवरले शैक्षिक क्षेत्रको विकासका लागि क्याम्पसका प्राध्यापक र कर्मचारीको सम्बन्ध मजबुत हुनुपर्ने बताएका छन् । उनले प्रशासनिक कार्यमा कर्मचारी क्षमतावान हुनुपर्ने बताएका छन् । “तालिमको सिकाई भन्दा आफ्ना अनुभव आदानप्रदानबाट महत्त्वपूर्ण सिकाई हुन्छ ।” क्याम्पस प्रमुख कुँवरले भने, “त्यो सिकाइले प्रशासनिक क्षेत्र प्रभावशाली बनाउन सकिन्छ ।” कार्यक्रममा प्राध्यापक संघ टीकापुर बहुमुखी क्याम्पसका सभापति प्रेम प्रसाद भण्डारी, कर्मचारी संघ टीकापुर बहुमुखी क्याम्पसका सभापति पुष्पराज केसी, स्ववियु सभापति नृप थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अनुसन्धान समितिका संयोजक ज्ञानुराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत समितिका सदस्य नवराज पाण्डेले गरेका थिए भने सञ्चालन सदस्य सचीव कृष्णप्रसाद जैशीले गरेका थिए । तालिममा सुदुरपश्चिम विश्वविद्यालयका अन्तर्गतका क्याम्पसमा प्रशासन क्षेत्रमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *