शेयेर गर्नुहोस
टीकापुर ०२ असोज /
टीकापुर नगरपालिका वडा नं. ७ सत्तीका सुरेशकुमार कर्ण इजरायलको राजदूतमा सिफारिस भएका छन् ।
सत्ती घर भई लामो समयदेखि काठमाडौंमा व्यवसाय गर्दै आएका कर्णलाई सरकारले इजरायलक्क राजदूतमा सिफारिस गरेको हो । उनी कम्प्युटर एशोसियसन अफ नेपाल क्यानका पूर्व अध्यक्ष समेत हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कर्णसहित १३ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, अमेरिकाका लागि चिरनजंग थापा र चीनका लागि डा. कल्याणराज शर्मालाई सिफारिस गरेको छ ।
परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका अब्बल व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको जानकारी दिएका छन् । सिफारिस गरिएका प्रस्तावित राजदूतहरूलाई संसदीय सुनुवाइका लागि पठाइने छ । संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ भने अग्रिमो आएपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्नेछन् ।
सरकारले नियुक्तिका लागि सिफारिस गरेकामा डा. निश्चलनाथ पाण्डे भारत, डा. कल्याणराज शर्मा चीन, चिरनजंग थापा संयुक्त राज्य अमेरिका, पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा बेलायत, जिग्यान कुमार थापा जापानका लागि सिफारिस भएका छन् ।
त्यसैगरी प्राप्ति शेरचन स्पेन, शारू जोशीजर्मनी, डा. पद्माक्षी राणा ओमान, चूडामणि खरेल मलेसिया, प्रा. डा. सङ्गम श्रेष्ठ, दक्षिण कोरिया, डा. मंचल झा श्रीलंका र गिरीबहादुर सुनार साउदी अरेबियाका लागि सिफारिस भएका छन् ।










