टीकापुरमा होली सुरु

शेयेर गर्नुहोस


लक्ष्मण बि क , टीकापुर ०९ चैत/
हिन्दु धर्मावलम्बीहरुको महान् पर्व होली (होरी) खेल अष्टमीबाट सुरु भएको छ ।
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले साँस्कृतिक समाज टीकापुरले होलीको समयमा मात्र नभई सधै ब्यूँझनु पर्ने बताउँदै यस्ता सांस्कृतिक कार्यक्रमहरु बेलाबेलामा गरिरहनु पर्ने बताएका छन् । उनले टीकापुरमा सञ्चालन हुने होली पर्वलाई कसरी व्यवस्थित रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा एक्लो साँस्कृतिक समाज मात्र लागेर नहुने र त्यसका लागि सम्पूर्ण सरोकारवाला निकायको साथ र सहयोग रहनु पर्ने बताएका छन् । लोप हुन लागेको होरी पर्वलाई अब आउने नयाँ पिढीहरुलाई हस्तान्तरण गर्नका लागि पनि होरी पर्वलाई निरन्तरता दिन आवश्यक रहेको बताएका छन् । उनले होरी पर्व लगायत यो क्षेत्रमा रहेका सँस्कृति जोगाउनका लागि टीकापुर नगरपालिकाले विभिन्न निकाय, संघसंस्था र सरोकारवाला व्यक्तिहरुसँंग छलफल गरिरहेको बताउँदै होरी खेल खेलमा मात्र सीमित नरही राष्ट्रसामु चिनाउने पर्व रहेको समेत बताएका छन् । उनले होरी खेल अवधिसम्म सुरक्षा व्यवस्थापन लगायत लाग्ने सम्पूर्ण खर्च नगरपालिकाद्वारा गरिने बताएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्यले वर्ष दिनको एकचोटी आउने होरी पर्व सम्पूर्ण नेपालीहरुले हर्ष उल्लासका साथ मनाउनु पर्नेमा जोड दिएका छन् । उनले होरी एउटा संस्कृति भएकाले त्यसको संरक्षणमा आफ्नो सहयोग रहने बताउँदै त्यसलाई सफल पार्न सबै जिम्मेवार बन्न आग्रह गरेका छन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुधन न्यौपानेले आउँदो नयाँ पुस्तालाई हस्तान्तरण गर्ने होरी पर्वलाई नमूनाका रुपमा हस्तान्तरण गर्नुपर्ने बताउँदै होरी पर्वलाई अहिलेका पिढीहरुले लोप हुन नदिन आग्रह गरेका छन् । उनले होरी खेल अवधिभरिका लागि शान्ति सुरक्षा अमनचयनको व्यवस्था पूर्णरुपमा इलाका प्रहरी कार्यालयले गर्ने समेत बताएका छन् ।
सास्कृतिक समाज टीकापुरका अध्यक्ष प्रेमबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत देवेन्द्र रिमालले गरेका थिए भने सञ्चालन बालबहादुर बोहोराले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *