दशौं राष्ट्रिय कर दिवसमा सप्ताहव्यापी कार्यक्रम सुरु

शेयेर गर्नुहोस


समाधान समाचार,टीकापुर ०२ मंसिर /

टीकापुर नगरपालिका राजस्व उपशाखाको आयोजनामा बुधबारदेखि सप्ताहव्यापी कर दिवस सुरु भएको छ ।
नगरपालिकाले सप्ताह व्यापी कार्यक्रमको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले नगरपालिकाले करको दायरालाई व्यवस्थित गर्दै लैजाने काममा नगरपालिकाले काम गरिरहेको बताउँदै आन्तरिक आयमा नगरपालिकाले आफ्नो लक्ष्य भेटाइरहेको बताएका छन् । उनले नगरपालिकाको संस्थागत विकासको लागि लागिपरेको भन्दै सबैको कर अरुका लागि नभई आफ्नैलागि तिर्नुपर्ने मानसिकताको विकास गर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले टीकापुरका सबै व्यवसायीहरुलाई करको दायरामा अझै ल्याउन नसकिएको बताउँदै सप्ताहव्यापी कार्यक्रमले व्यवसायीहरु कर तिर्नुपर्छ भन्ने, चेतनाको विकास हुने बताएका छन् । उनले कर सम्बन्धि जनचेतनामूलक कार्यक्रमलाई सञ्चालन गर्न सकेको अवस्थामा अझै नगरपालिकाको आन्तरिक आयलाई मजबुत बनाउन सकिने धारणा ब्याक्त गरेका छन् ।
टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्यले अधिकांश करहरु वडा कार्यालयबाटै तिर्नुपर्ने अहिलेको अवस्थामा वडामा कर्मचारी अभावका कारण सेवाग्राहीहरुको समयमै काम हुन नसक्दा पनि कर संकलनमा जटिलता देखिएको बताएका छन् । उनले करको दायरालाई फराकिलो बनाउँदै वडास्तरमा जनशक्तिको व्यवस्थापन गर्न सकेको अवस्था र नागरिकहरूलाई करको बारेमा बिस्तृत बुझाउनसक्ने खालका कार्यक्रम सञ्चालन गर्नसके अझै नगरपालिकाको आन्तरिक आयको अवस्था मजबुत हुने बताएका छन् ।
नगरपालिकाकी नगर उपप्रमुख केशरी बिष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमसँगै प्रभावफेरी कार्यक्रम समेत आयोजना गरिएको थियो । नगरपालिकाका केही जनप्रतिनिधि, कर्मचारीहरुको सहभागीता रहेको उक्त प्रभातफेरीमा बजार परिक्रमा सहित नगरपालिकामा आएर समापन गरिएको थियो । कार्यक्रमको समापन गर्दै नगर उपप्रमुख बिष्टले राजस्व वृद्धि तथा सबैलाई करको दायरामा ल्याउनको लागि नगरपालिकाले कार्यक्रम सुचारु गरेको बताउँदै नगरपालिकाले गत वर्षको तथ्यांक हेर्दा छ करोड राजस्वको प्रक्षेपण भएपनि ५ करोड भन्दा बढी राजस्व संकलन भएको बताएकी छन् । उनले ब्यापारी हरुले पनि आफ्नो कर्तव्य सम्झेर करको दायरामा आउन आवश्यक रहेको बताएकी छन् । कार्यक्रमको सञ्चालन अमृता रावलले गरेकी थिइन् ।
नगरपालिकाले चालू आर्थिक वर्षको तीन महिनामा २ करोड, २० लाख, २६ हजार, ३ सय ६१ रुपैयाँ २४ पैसा राजस्व संकलन गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा ५ करोड, ४८ हजार, ८ सय, ९७ रुपैयाँ, ८० पैसा राजस्व संकलन गरेको छ । नगरपालिका लक्ष्य अनुसारको राजस्व भने संकलनको काम पूरा गर्न सकेको छैन । स्थानीय सरोकारवालाहरुले नगरपालिकाले कर नबढाएर राजस्वको दायरा बढाउन पटकपटक माग गरेका छन् ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नगरपालिकाले २ र ३ गते कर सम्बन्धि जनचेतनामूलक कार्यक्रम, ४ गते कर प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरु र करदाताहरुसँग अन्तरक्रिया कार्यक्रम, ५ र ६ गते मातहतका वडा नं.१ कार्यालयमा गई स्थलगत निरीक्षण तथा सेवाग्राहीसँग अन्तरक्रिया कार्यक्रम र ७ गते असल करदाता तथा प्रशासनमा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *