प्रदेशले गर्ने विकासमा अब असार कुर्नु पर्दैन : मन्त्री रावल

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०३ साउन /

सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले प्रदेशले गर्ने विकास आयोजनामा विषयमा थुप्रै प्रश्न उठेको बताउँदै चालू आर्थिक वर्षदेखि प्रदेशले गर्ने विकासमा असार कुर्नु नपर्ने बताएका छन् ।
सोमबार सुदुरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयको पुर्वाधार विकास कार्यालय कैलालीको लागतमा निर्माण हुन लागेको कमल रावलको घरदेखी टंक देवकोटाको घर र पश्चिममा नमराज उपाध्यायको घर जाने सडक र सैपाल स्कुलदेखी टीकापुर योगाश्रम जोड्ने कालोपत्रे सडकको शिलान्यास गर्दै मन्त्री रावलले यस्तो बताएका हुन । “यतिबेला प्रदेश सरकार तातिसकेको छ । विकास आयोजनाको काम साउनबाटै प्रक्रियामा जाने र दशैदेखि निर्माण सुरु हुनेगरी अगाडि बढ्छन ।” मन्त्री रावलले भने, “हामिले चालू आर्थिक वर्षको साउन भित्रै बजेटको अख्तियारी दिन मातहतका कर्मचारीहरुलाई निर्देशन दिइसकेका छौं । सरकारको यतिबेला बजेट कार्यान्वयनमा निकै ध्यान पुगेको छ ।”
उनले प्रदेश सरकारले सानातिना आयोजना भन्दा ठुला र सरोकार राख्ने आयोजनामा केन्द्रित हुनुपर्ने बताउँदै विकासमा नागरिक भुलाउने काम राम्रो नहुने बताएका छन् । “हामिले ठुला गौरवका आयोजना, एक पालिकाबाट अर्को पालिका जोड्ने पुर्वाधारका कुरामा प्रयास गरेका थियौं ।” मन्त्री रावलले भने, “धेरै कुरा बोलेर हुँदैन । त्यहाँ पनि बहुमतको निर्णय हुन्छ । बहुमतले गरेको निर्णय कार्यान्वयन हुन्छ ।”
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले प्रदेश सरकार सानातिना कुरामा बढी अल्झेको बताउँदै ठुला र गौरवका आयोजनामा ध्यान दिन आवश्यक रहेको बताएका छन् । “सानातिना आयोजनाहरुको काम त स्थानीय सरकारले पनि गर्न सक्छ । १०/१५ लाखका आयोजनाहरुको काम स्थानीय सरकारले पनि गर्न सक्छ ।” वडा अध्यक्ष विकले भने, “बजेटलाई टुक्राटुक्रा गरेर नागरिक रिझाउनुभन्दा पनि प्रतिफल आउने गरि काम गर्न सक्नुपर्छ ।”
एन. एस. राजन जेभीले निर्माण गर्न लागेको उक्त सडक दुई भागमा निर्माण हुने भएको छ । जसअनुसार एक हजार दुई सय मिटर लामो सडक दुई लेनको र चार सय भित्री सडक एक लेनको निर्माण हुनेछ । तीन करोड ९८ लाखको लागत अनुमान गरिएकोमा निर्माण कम्पनीले दुई करोड ६६ लाख ६१ हजार दुई सय ४० रुपैयाँमा ठेक्का पाएको छ । २०७९ असार २२ गते ठेक्का भएको आयोजना २०८० असार १५ गते सम्पन्न गरिसक्नुपर्ने छ ।
पुर्वाधार विकास कार्यालय कैलालीका प्रमुख जगत प्रसाद जोशीले चालू आर्थिक वर्षमा विकास आयिजनाको कामको प्रक्रिया अगाडि बढिसकेको बताउँदै असोज भित्र अधिकांश आयोजनाको काम सुरु हुने बताएका छन् । कार्यक्रमको सञ्चालन धनन्जय रिमालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *