शेयेर गर्नुहोस
भजनी ११ वैशाख /
भजनी नगरपालिकाले अहिलेसम्म विद्युतीय हाजिरी प्रयोगमा ल्याउन सकेको छैन ।
पहिले एकपटक विद्युतीय हाजिरी जडान गरेको नगरपालिकाले त्यसलाई अहिलेसम्म प्रयोगमा नल्याएर रजिष्टरमा कर्मचारीको हाजिरी हुने गरेको छ । कैलाली जिल्लाकै सबैभन्दा बढी लथालिङ्ग अवस्थामा रहेको स्थानीय तह भनेर चिनिँदै आएको भजनी नगरपालिका सुशासनका दृष्टिकोणले पनि निकै कम्जोर सावित हुँदै गएको छ ।
सक्षम नेतृत्व नहुनु, कर्मचारी भित्रको गुटबन्दी, प्रमुख प्रशासकीय अधिकृतहरु व्यक्तिगत फाइदा तिर अग्रसर हुने हुँदा सुशासनसँगै स्वास्थ्य, शिक्षा तथा पुर्वाधारमा पनि नगरपालिका कमजोर बन्दै गएको छ । शिक्षामा बर्सेनि एसईईको नतिजामा कतिपय बिधालय निल हुँदै आएकोमा अहिलेको कक्षा ८ को नगरपालिका स्तरीय परिक्षामा समेत त्यहीँ क्रम दोहोरिएको थियो । विकासमा झण्डै तीन सय मिटर सडक कालोपत्रे हुन लगभग चार वर्ष हुन लाग्दा पनि सडक मुख्य बजारको सडक कालोपत्रे हुन सकेको छैन । “बेथिति निकै छ । कसैले हाकिमका प्रिय भएर खाएका छन् त कसैले जनप्रतिनिधिका प्रिय भएर रजाइँ गरेका छन् ।” स्थानीय सुन्दरलाल चौधरी भन्छन्, “शिक्षा, स्वास्थ्य, यातायात मात्रै नभई सर्वसाधारणले सहजरूपमा सेवा पाउने स्थिति छैन ।”
यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
उता जानकी गाउँपालिकामा भने विद्युतीय हाजिरी जडान छ । प्रमुख प्रशासकीय अधिकृतको रुपमा आशिष चौधरी आएपछि गाउँपालिकामा विद्युतिय हाजिरी जडान भएको थियो । जोशीपुर गाउँपालिकामा पनि विद्युतीय हाजिरी जडान छ ।









