लेखापढी कानुन व्यवसायीको अध्यक्षमा बिनाडी चयन

शेयेर गर्नुहोस


टीकापुर २७ फागुन/

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिती टीकापुरको ९ औं चुनावी साधारण सभाबाट भोजराज बिनाडीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
त्यसैगरी समितिको उपाध्यक्षमा जयबहादुर सिंह, सचीवमा शान्ताराज शर्मा न्यौपाने, कोषाध्यक्षमा चेतराज बसौट्याल चयन भएका छन् । समितिको सदस्यका चतुर राज शर्मा, यमबहादुर थापा, मायानन्द संज्याल लगायत चयन भएको बताइएको छ । इकाई समिती टीकापुरका अध्यक्ष शत्यराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश संयोजक दिलबहादुर विष्टले केही लेखापढी व्यवसायीहरुको उद्देश्य नै पैसा कमाउने भएको हुँदा संस्थागत संगठनलाई बलियो बनाउन नसकिएको बताएका छन् । नेपाली राजनीतिक दल र लेखापढी व्यवसायी एसोसिएसनलाई एउटै दर्जाको संज्ञा दिँदै भने “राजनीतिक दलले सत्ता स्वार्थको लागि आफ्नो बिधि र सिद्धान्त सबै बिर्सने गरेका छन् भने हामी लेखापढी कानुन व्यवसायीले पनि पैसा पायो भने आफ्नो संस्थाको मान मर्यादा र सेवाग्राहीलाई पर्ने असर सबै भुल्ने गरेका छौँ ।”
उनले सरकारी संयन्त्रहरुले नै गलत बाटो देखाएको बताएका छन् । “सहकारी निकाय पनि केही आफू खाउ, केही हामीला देउ भन्छ । त्यहीँ कमाउने धन्दा सबै सक्रिय भएकै कारण सबै कुरा बिग्रेको छ ।” संयोजक विष्टले भने, “त्यसकारण हाम्रो अस्तित्व संकटमा छ । जतिबेला पनि समाप्त हुनसक्छौँ ।” लेखापढी व्यवसायीहरुमा अध्ययनको निकै अभाव देखिएको बताउँदै उनले आफू क्षमतावान भएर आउन सक्यो भने त्यहाँ कसैले हस्तक्षेप गर्न नसक्ने बताए ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेश सचीव खेमराज पनेरुले सांगठनिक एकता बलियो भए त्यो संगठन आफै बलियो हुने बताएका छन् । राज्यले बनाएका नीति, नियमको अध्ययनको व्यवसायीहरुमा खाँचो रहेको बताउँदै पनेरुले अदालतले व्यावसायिक बनाउन प्रदान गरेको प्रमाणपत्रको सम्मान गर्न सिक्नुपर्ने बताएका छन् । टीकापुर नगरपालिकाका न्यायीक अधिकृत केशरबहादुर थापाले पेशागत हकहितका लागि एकताको अभाव देखिएको बताएका छन् । कुनै पनि संस्थाले संस्थागत विकास सँगसँगै नागरिकहरुको सेवा प्रवाहमा जिम्मेवार बन्न आवश्यक रहेको बताएका छन् । कानुन अधिकृत थापाले अर्धन्यायिक निकायमा रहेकाहरुको संगठन आवश्यक रहेको बताउँदै टीकापुर नगरपालिकामा त्यो सम्भव रहेको बताए ।
कार्यक्रममा मालपोत कार्यालय टीकापुरका सुचना अधिकारी परमप्रकाश सिंहले राम्रोलाई राम्रो र गलतलाई गलत सबैले भन्न सक्नुपर्ने बताएका छन् । उनले कानुनले मिल्ने कुरामा मालपोत कार्यालयले कुनै पनि व्यवसायीलाई विभेद नगर्ने बताउँदै त्यस्तो भएको पाइएमा जानकारी गराउन पनि आग्रह गरेका छन् । अधिवक्ता मुक्तिप्रसाद भट्टराईले व्यवसायीका गतिविधिहरु फितलो हुँदै गएको भन्दै संगठनलाई बलियो बनाउनतिर लाग्न आग्रह गरेका छन् । उनले नागरिकहरूले सबैभन्दा बढी सेवा अर्धन्यायिक निकायबाट लिनेगरेको पनि बताए ।
कानुन व्यवसायी विष्णुप्रसाद उपाध्यायले मर्यादित पेशा केही ब्याक्तीहरुका कारण अमर्यादित बनेको आरोप लगाएका छन् । लेखापढी व्यवसायी जयबहादुर सिंहले संगठनको नेतृत्व गर्ने ब्याक्ती सक्षम नहुँदा संगठनको अस्तित्व संकटमा पर्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरेका छन् । उनले लेखापढी व्यवसायीहरुलाई मालपोत कार्यालयले एउटै नजरबाट हेर्न नसकेको बताएका छन् । “एउटा व्याक्तीले लिएर गएको फाइल मिलेन भनेर मालपोतका कर्मचारीहरुले फिर्ता पठाउँछन् भने त्यहीँ फाइल अर्को दिन अर्को ब्याक्तिले लिएर गयो भने काम भैहाल्छ ।” सिंहले भने, “यसमा मालपोतको बदमासी हो कि संगठनका केही ब्याक्तिको सेटिङ हो ? जवाफ चाहिन्छ ।”
कार्यक्रममा केन्द्रिय समिती बिभाग सदस्य भोजराज बिनाडी, जिल्ला समन्वय समितिका उपाध्यक्ष धनबहादुर बुढा, जिल्ला सहसचिव अशोक खत्री, जिल्ला निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद खनाल, अधिबक्ता टीकाराम बजगाई, मीनबहादुर विश्वकर्मा लगायतको सहभागिता रहेको थियो
इकाई समितिका पुर्व सचीव देवानन्द ओझाले सञ्चालन गरेको कार्यक्रमको स्वागत इकाई समितिका पुर्व सदस्य देविदास संज्यालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *