वडा बिभाजनको विषयले यसपटक नगर सभामा प्रवेश नै पाएन

शेयेर गर्नुहोस


टीकापुर २३ माघ /
टीकापुर नगरपालिका वडा नं. १ लाई बिभाजन गर्ने विषय नौलो होइन ।
जनसंख्याका हिसाबले नेपालकै सबैभन्दा ठूलो वडा भएकोले वडा बिभाजनको विषय पटकपटक उठ्ने गरेको छ । स्थानीय तहको निर्वाचन भन्दा पहिलेदेखि नै वडा बिभाजनको चर्चा हुँदै आएको थियो । त्यसपछि २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । निर्वाचन पछि पनि वडा बिभाजनको विषयले स्थान पाएकै थियो । त्यतिमात्र नभई नगरपालिकाको ९ औं नगर सभामा वडा बिभाजनको प्रस्तावले निकै चर्चा पाए पनि त्यसले पुर्णता पाउन सकेन । वडा बिभाजनमा सहमति जुट्न नसक्दा नगर सभासँगै जनप्रतिनिधिको कार्यकाल पनि सकियो ।
दोस्रो स्थानीय तहको निर्वाचनमा वडा बिभाजनको मुद्दा राजनीतिक दलको मुख्य एजेण्डा बन्यो । त्यहीँ एजेण्डा बोकेकाहरु मध्येका केहिले चुनाव जिते । चुनाव मात्रै होईन, दुईदुईवटा नगर सभा समेत गर्न भ्याएका छन् । तर, वडा बिभाजनको बिषयले दुबै नगर सभामा प्राथमिकता पाउन सकेन । यतिबेला नगरपालिकाको १२ औं नगर सभामा पनि वडा बिभाजनको विषयले प्रवेश पाएको छैन । नगरपालिकाको हिउँदे अधिवेशन अर्थात नगर सभामा वडा बिभाजनको प्रस्ताव लिने यसभन्दा अगाडि जनप्रतिनिधिहरुले बताउँदै आएका थिए ।
नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले समय अभावका कारण वडा बिभाजनको प्रस्तावलाई नगर सभामा लिन नसकिएको बताएका छन् । उनले सरोकारवाला ब्याक्तीहरुसँग छलफल गरेर नगर सभामा लिनुपर्ने भएका कारण छलफल गर्न नसकिएको हुँदा आउने नगर सभाबाट वडा बिभाजनको विषय टुंगोमा पुग्ने बताएका छन् । “यसै नगर सभामा वडा बिभाजनको कुरालाई लैजाने तयारी थियो । समय अभावका कारण भनेजस्तो हुन सकेन ।” नगर प्रमुख थारुले भने, “अब आउने नगर सभाबाट वडा बिभाजनको विषय टुंगो लाग्छ ।”
आन्तरिक विवादका कारण वडा बिभाजनको विषय नगर सभामा पुग्न नसकेको भन्ने प्रश्नमा नगर प्रमुख थारुले वडा अध्यक्षहरुको केही फरक धारणा देखिए पनि त्यस्तो विवाद नरहेको बताएका छन् । “हामी सबै वडा बिभाजन हुनुपर्छ भन्नेमा छौं । यसमा कुनै विवाद छैन ।” नगर प्रमुख थारुले भने, “सामान्य आफू अनुकुलको प्रस्ताव ल्याउने कुरा मात्रै हो । सहमति जुट्छ । आउने १३ औं नगर सभाबाट वडा बिभाजनको विषय टुंगोमा पुग्छ ।”
वडा नं. १ का वडा अध्यक्ष मोहन विकले सबैको सहमतिका आधारमा वडा बिभाजनको विषयलाई टुंगोमा पुर्याएर मात्रै नगर सभामा पेस गर्ने सहमति भएपछि यसपटकको नगर सभामा उक्त विषयलाई लिन नसकिएको बताएका छन् । “हामीले कार्यपालिकाको बैठकमा व्यापक छ्लफल गरेका छौं । नगर प्रमुखको संयोजकत्वमा कार्यदल समेत बनेको छ ।” वडा अध्यक्ष विकले भने, “सर्वदलीय सर्वपक्षीय छलफलबाट सबैको साझा धारणा बनाएर वडा बिभाजनको विषयलाई मुर्तरुप दिने सहमतिका आधारमा यसपटकको नगर सभामा लिन नसकिएको हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *