सडक निर्माण ढिलाईका कारण टीकापुर डुवानको जोखिममा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०९ भदौ /
सोमबार रातिको अविरल वर्षातका कारण कैलालीको टीकापुरमा रहेको नमुना इन्टरप्राइजेज डुवानमा पर्यो । नमुना इन्टरप्राइजेज मात्रै नभई त्यस क्षेत्रका करिब एक दर्जन पसल डुवानमा पर्दा लाखौंको सामानमा क्षति पुग्यो । गत वर्षको डुवानमा ब्यापारीहरुको ठुलो क्षति भएको स्मरण गर्दै ब्यापारी सरोज चपाईले ढल निकासको समस्याका कारण डुवान भएको बताउँदै सडक निर्माण गर्ने ठेकेदार कम्पनीको लापरबाहीका कारण बर्सेनि डुवानको समस्या झेल्नुपरेको बताउनुभएको छ । “स्थानीय सरकार मौन छ । निर्माण कम्पनीले कछुवा गतिमा काम गरिरहेको छ । ब्यापारी बर्सेनि डुवानको समस्यामा छन् ।” चपाईले भन्नुभयो, ” ढल निकासको उचित व्यवस्थापन नभएकै कारण हामिले समस्या भोग्नुपरेको छ ।”
बजारको मुख्य भागमा निर्माण सुरु भएको सडकको काम समयमै सम्पन्न नहुँदा बजार क्षेत्र डुवानमा पर्ने खतरा बढेको छ । एक दिनको वर्षातले मात्रै टीकापुरका दर्जनौं पसलहरु डुवानमा परेका छन् । अहिले निर्माण हुन लागेको सडक घरको सतहभन्दा अग्लो भएका कारणले पनि सामान्य वर्षामा पानी पसलमा पस्ने गरेको स्थानीय ब्यापारी सुरेन्द्र चौधरी बताउँनुहुन्छ । “नाली निर्माण भएका छन् । तिनको निकास छैन् । अहिले तिनै नालीमा पानी भरिएर पसलहरु जलमग्न भएका छन् ।” सुरेन्द्र भन्नुभयो, “पुर्व तयारी कसैले गर्दैनन् । जब समस्या आउँछ त्यसपछि मात्रै एक अर्कालाई दोष दिएर समस्याको समाधान हुँदैन ।”
बजारको मुख्य भाग ब्लक नं. ‘ए’ मा स्मार्ट सिटी अन्तर्गत सडकको काम सुरु भएको दुई वर्ष भैसकेको छ । सडक निर्माणको जिम्मा पाएको महालक्ष्मी एम के जेभीले पहिलो चरणको सम्झौताको म्याद सकिए पनि अझै आधा काम सम्पन्न गर्न सकेको छैन् । जेभीका निर्देशक चक्रबहादुर शाहीले काम गर्दै जादा आयोजनाको डिजाइन परिवर्तन गर्नुपरेकोले काममा ढिलाई भएको बताउँनुभएको छ । उहाँले आयोजनाको डिजाइन सच्याउन समय लागेको र कोरोनाका कारण पनि काम प्रभावित भएका कारण समयमै सम्पन्न गर्न नसकिएको बताउँनुभयो ।
उता बजारको मुख्य बजारसंगै जोडिएको जमरा पुल देखि बसपार्क सम्मको सडकको पनि पहिलो चरणको सम्झौता गत फागुनमै सम्पन्न भैसकेको छ । बिधुत पोलको समस्या देखाउँदै आएको निर्माण कम्पनीले ढल निकासका लागि निर्माण गरेको नालाको निकास खोलेको छैन । नालाको निकास नभएका कारण डुवानको जोखिम बढेको स्थानीय ब्यापारी हेमन्त रावल बताउँनुहुन्छ । सडक निर्माणको जिम्मा पाएको रेखा निर्माण सेवाले अहिले सडकको बिच भागमा गिट्टी थुपारेका कारण सवारी आवागमनमा पनि निकै समस्या हुने गरेको छ । निर्माण सेवाका इन्जिनियर गगन शाहीले बिधुत पोलको व्यवस्थापन हुन नसक्दा काम गर्न निकै कठिनाइ हुँदै आएको बताउँदै बिचको भाग भए पनि कालोपत्रे गर्ने भनेर सडकमा गिट्टी थुपार्ने काम भएको बताउँनुभयो । “हामिले पनि समयमै काम सम्पन्न गर्छौ भनेर काम सुरु गरेका थियौं । तर बिचमा आएका समस्याले काम समयमै सम्पन्न गर्न सकिएन ।” इन्जिनियर शाहीले भन्नुभयो, “हामी त काम गर्न तयारै छौ तर काम गर्ने वातावरण बनिरहेको छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *