शेयेर गर्नुहोस
टीकापुर १० जेठ /
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शान्तिपूर्ण सुरक्षित समाजका लागि लागुऔषध नियन्त्रण विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्ष्ातामा भएको कार्यक्रममा टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगाैरा थारुले टीकापुर नगरपालिका र आसपासका पालिकाहरु भारतीय सिमासँग नजिक र खुल्ला रहेको बताउँदै त्यहाँबाट लागुऔषधको ओसारपसार तथा कारोबार गर्न सजिलो रहेको बताएका छन् । उनले खुल्ला सिमाना भएका कारणले नै टीकापुर नगरपालिका लागुऔषध दुर्व्यसनीको उच्च जोखिममा रहेको बताएका छन् ।
लागुऔषध नियन्त्रण गर्न आफ्नै घरपरिवारबाट सुरु गर्नुपर्ने उनको भनाई थियो । “लागुऔषधका विषयमा हामी आफै जानकार छौं तर पनि हामी आफै गलत गरिरहेका हुन्छौं ।” नगर प्रमुख थारुले भने, “आफ्ना बालबालिका लतमा फसेको थाहा हुँदाहुँदै पनि त्यसलाई बेवास्ता गर्दा त्यसबाट ठूलो जोखिम निम्तने गरेको छ ।
टीकापुर पछिल्लो समय धेरै ठाउँमा चर्चाको विषय समेत बन्न पुगेको बताउँदै नगर प्रमुख थारुले सकारात्मक विषयमा चर्चामा आउनु राम्रो भए पनि नकारात्मक विषयमा चर्चामा आउनु नराम्रो भएकोले त्यसलाई सुधार गर्नु सबै नागरिकको दायित्व भित्र पर्ने समेत बताएका छन् ।
कार्यक्रममा नागरिक समाजका संयोजक भिमराम चपाई, होटल व्यवसायी विरमन्जन बटाला, वीरेन्द्र बिद्या मन्दिर क्याम्पस स्ववियु सभापति गोपाल खत्री, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हरि तिमिल्सिना, नयाँ विहानी पुन:स्थापना केन्द्र कल्पेश कुवँर लगायत आफ्नो सुझाव राखेका थिए ।
जिल्ला प्रशासन कार्यालय कैलालीको आयोजनामा भएको कार्यक्रमको समवन्य इलाका प्रशासन कार्यालय टीकापुरले गरेको थियो भने सहजीकरण जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरले गरेको थियो । इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख कृष्ण थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय टीकापुर प्रहरी निरीक्षक बालेन्द्र नाथले गरेका थिए ।










