प्रशासनका लागि मात्रै २१ करोड बजेट

शेयेर गर्नुहोस


टीकापुर १८ असार /
टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब तीन करोड ६७ लाख रुपैयाँ बराबरको बजेट मध्ये २१ करोड रुपैयाँ प्रशासनिक खर्च हुने भएको छ ।
नगरपालिकाले ४० वटा शिर्षकमा प्रशासनिक खर्च तर्फ २१ करोड खर्च हुने अनुमान गरेको छ । जसमा सबैभन्दा बढी करार सेवा शुल्कमा पाँच करोड ७० लाख बजेट विनियोजन भएको छ भने कर्मचारी पारिश्रमिकमा चार करोड ९० लाख खर्च हुने अनुमान गरेको छ । त्यसपछिको धेरै बजेट हुने शिर्षकमा इन्धन पनि रहेको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा ९० लाखको इन्धन आवश्यक पर्ने अनुमान गरेको छ । जसमा पदाधिकारीका लागि २५ लाख, कार्यालय प्रयोजनको लागि ३० लाख, अन्य प्रयोजनको लागि पाँच लाख र नगरपालिकाको दमकल, सक्सेस मेसिन, टिप्पर लगायतका लागि थप ३० लाख खर्च हुने अनुमान गरेको छ । सवारीसाधनको मर्मत खर्चमा ३० लाख बजेट विनियोजन गरिएको छ भने मेसिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालनका लागि थप ३० लाख बजेट छुट्याइएको छ ।
नगरपालिका त्यसमध्ये ठूलो रकम भ्रमणमा विनियोजन गरेको छ । पदाधिकारी भ्रमणको लागि १० लाख विनियोजन गरिएकोमा कर्मचारीको भ्रमणका लागि २० लाख छुट्याइएको छ । मसलन्द तथा कार्यालय सामाग्रीका लागि ६० लाख विनियोजन गरेको नगरपालिकाले सिकलसेल अस्पतालको कर्मचारी, फार्मेसी तथा अन्य व्यवस्थापनका लागि एक करोड बजेट सुनिश्चित गरेको छ । नगरपालिकाले पत्रपत्रिका छपाइ तथा सुचना प्रकाशनमा पनि ३० लाख बजेट विनियोजन गरेको छ ।
कर्मचारी बैठक भत्ता शिर्षकमा २० लाख विनियोजन भएकोमा पदाधिकारी बैठक भत्ताको नाममा ८ लाख विनियोजन भएको छ भने अन्य भत्ता शिर्षकमा १० लाख विनियोजन गरिएको छ । पदाधिकारीजन्य सुविधामा ९० लाख रुपैयाँ विनियोजन गरिएको छ । आन्तरिक ऋणको ब्याज तिर्नको लागि १५ लाख, सवारीसाधन तथा मेसिनरी औजार भाडामा लिन १० लाख, मेसिनरी औजार खरिदका लागि २५ लाख र फर्निचर र फिक्चर्सको लागि २० लाख बजेट छुट्याइएको छ ।
नगरपालिकाले केन्द्रबाट हुने कार्यक्रमका लागि ९ करोड ८० लाख बजेट छ । विषयगत शाखाको लागि दुई करोड ३५ लाख विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *