महोत्सवको आयव्यय ७ महिनापछि सार्वजनिक

शेयेर गर्नुहोस


टीकापुर १५ साउन /
टीकापुर उद्योग वाणिज्य संघले आयोजना गरेको टीकापुर महोत्सवको आयव्यय महोत्सव सम्पन्न भएको करिब ७ महिनापछि सार्वजनिक गरेको छ ।
गत पौष २९ गतेदेखि माघ ११ गतेसम्म सम्पन्न गरेको टीकापुर महोत्सव २०८२ को करिब ७ महिनापछि संघले आयव्यय बिहीबार सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा वितरण गरिएको विवरण अनुसार संघले एक करोड २५ लाख १६ हजार ९२ रुपैयाँ आम्दानी गरेको छ । 
संघले टिकट बिक्री, प्रायोजक, बाल उद्यान, परिसर जस्ता शीर्षकबाट सो रकम आम्दानी गरेको हो । संघले टिकट बिक्रीबाट ७१ लाख १० हजार ८ सय २० रुपैयाँ संकलन गरेको छ भने स्टल बिक्रीबाट १७ लाख ३९ हजार पाँच सय रुपैयाँ संकलन गरेको छ । महोत्सवको आयोजकबाट ६ लाख १४ हजार तीन सय ८७, परिसरबाट पाँच लाख एक हजार, बाल उद्यानबाट चार लाख ५० हजार, ब्यानरबाट तीन लाख ७८ हजार एक सय ५५, प्रायोजकबाट तीन लाख ७७ हजार पाँच सय, सिजनल टिकट बिक्रीबाट तीन लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ । 
त्यस्तै टाइटल प्रायोजकबाट एक लाख ५० हजार, मुख्य प्रायोजकबाट एक लाख ५० हजार, सहप्रायोजकबाट एक लाख ८५ हजार ८ सय ५०, प्रबर्द्धकबाट एक लाख ५० हजार, सहयोगीबाट दुई लाख ५३ हजार ८ सय ९७, पार्किङबाट ५० हजार, अफिसियल बैंकबाट ४३ हजार तीन सय ५०, नृत्य निवेदनबाट १९ हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ । 
विवरणमा संघले २६ लाख १६ हजार ५३ रुपैयाँ बैंक मौज्दात गरेको छ भने खर्चतर्फ कलाकार पारिश्रमिकमा सबैभन्दा बढी ३२ लाख ९५ हजार पाँच सय र मसलन्द छपाईमा १३ लाख ७९ हजार ६ सय ७९ रुपैयाँ खर्च गरेको छ । त्यस्तै भोजन अतिथि शीर्षकमा पनि १३ लाख ४८ हजार ७१ रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ । 
महोत्सवबाट अझै दुई लाख २६ हजार रुपैयाँ उठ्न बाँकी रहेको बताउँदै संघका अध्यक्ष सन्तोष खड्काले रकम उठाउन ढिलाई भएका कारण महोत्सवको आयव्यय सार्वजनिक गर्न ढिलाई भएको बताएका छन् । ” सुरुमै सार्वजनिक गर्दा धेरै रकम उठ्न बाँकी देखिने हुनाले हामीले ढिलो नै सार्वजनिक गरेका हौं ।’ अध्यक्ष खड्काले भने ‘धेरै ताकेता गर्दा समेत केही रकम उठ्न बाँकी रहेको छ ।” संघले महोत्सवको आम्दानीबाट अलपत्र परेको संघको सभा हलको भवन निर्माणको सुरुवात गर्ने भने पनि अझै सभा हल निर्माणको काम सुरु भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *