शेयेर गर्नुहोस
टीकापुर ३० असोज /
राष्ट्रिय स्वतन्त्र पार्टीबाट टीकापुर नगरपालिकाको नगर प्रमुखमा टीकापुर नगर सभापति रवीन्द्र विष्ट पनि आकांक्षी देखिएका छन् ।
पार्टीले आव्हान गरेको क्यान्डिटेट क्लबमा उम्मेदवारको आकांक्षिको रूपमा नगर प्रमुखमा विष्टले नाम दर्ता गराएका हुन । पार्टीको स्थापनाकालदेखि टीकापुर नगर सभापतिको रुपमा काम गर्दै आएका विष्टले आफुलाई नगरपालिकाको नेतृत्व गर्न सक्ने सक्षम नेतृत्वको रुपमा नाम दर्ता गराएको बताएका छन् ।
विगत १० वर्षदेखि ईन्जिनियरिङ सेवा मार्फत टिकापुर र समग्र पुर्वि कैलालीलाई कर्मथलो बनाउदै पूर्वाधार विज्ञका रुपमा कामगर्दै आएका विष्टले नगरपालिकालाई समृद्ध पालिकाको रुपमा स्थापित गर्न आफुले ग्रामिण देखि बजार क्षेत्रसम्मका साझा समस्यालाई नजिकबाट नियालेको दाबी गरे ।
उनले पार्टीमा हालसम्म गरेको काम, कर्तव्य र जिम्मेवारीलाई मध्यनजर गर्दै आफुले टिकट दिने विश्वास गर्दै वर्षौंदेखि टीकापुर नगरपालिका भित्र देखिएका समस्यालाई समन्वय र सहकार्यको माध्यमबाट समाधान गर्न आफू सक्षम रहेको बताएका छन् ।
पार्टीको क्यान्डिडेट क्लबमा नगर प्रमुखको उम्मेदवारीका लागि टीकापुरका व्यवसायी तथा समाजसेवी लोकबहादुर बुढाक्षेत्री लगायतले पनि नाम दर्ता गराएका छन् । रास्वपाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनेका लागि क्यान्डिडेट क्लबमा नाम दर्ताको लागि आह्वान गरेसँगै पार्टी भित्र नेतृत्वको आकांक्षा बोकेकाले नाम दर्ता गर्ने काम गरिरहेका छन् ।










