शेयेर गर्नुहोस
टीकापुर ०४ असोज /
रसुवाका जलविद्युत आयोजनाको सुरुङमा काम गरेका टीकापुरका नागरिकहरुलाई भदौ महिनाको पारिश्रमिक वितरण गरिएको छ ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बाढीपछि टीकापुर, जानकी र बर्दियामा केही नागरिक घर फर्किएका र केही अझैँ बेपत्ता रहेकाले उनीहरुको एक महिनाको पारिश्रमिक उनीहरुलाई काममा लैजाने ठेकेदार तुलाराम चौधरी मार्फत वितरण गरिएको हो । चौधरीको बैंक खातामा कम्पनीले भुक्तानी गरेको रकम टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकको रोहबरमा पीडितका परिवारलाई बुझाइएको छ ।
तुलारामले टीकापुर र बर्दियाका ४७ जना कामदारको पारिश्रमिक बापत १८ लाख ७६ हजार पाँच सय ७३ रुपैयाँ आफ्नो खातामा कम्पनीले जम्मा गरिदिएको, थोरै काम गरेकालाई पनि महिनाभरिकै पारिश्रमिक दिएकाले हस्तान्तरण गरिएको बताएका छन् । कम्पनीले कामदारको पूरानो पारिश्रमिक र भदौँ महिनाको १० गतेसम्म मात्रै काम गरेको भए पनि पुरै महिनाको पारिश्रमिक पठाएको उनको भनाइ छ ।
यसरी पारिश्रमिक पाउनेमा १४ जना बाढीग्रस्त क्षेत्रबाट फर्केर आएका कामदार छन् भने ३३ जना वेपत्ता श्रमिकका परिवार छन् । वेपत्ता भएकोमा २५ जना टीकापुर नगरपालिका, चार जना जानकी गाउँपालिका र चार जना बर्दियाको गेरुवा गाउँपालिकाका कामदार छन् । अहिले काम गरेको अवधिको निर्माण कम्पनीले दिएको तलव प्राप्त भएको र सरकारी प्रक्रिया पूरा भएपछि कामदारको दुर्घटना बिमा वापतको रकम मिल्ने तुलारामले बताए ।
टीकापुर नगरपालिका नं. ५ का कमल चौधरीले वडा नं. ५ बाट बेपत्ता भएका पाँच जनालाइ वितरण गर्नेगरी हातमा दुई लाख १४ हजार हजार चार सय ८७ रुपियाँको चेक ग्रहण गर्दै भने, ‘चेक त साटौंला, बुवाको सास त अब रहेन होला । लास कहिले पाइन्छ ?” २० महिनादेखि रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहेका उनी बुवा भोटेकोशी नदीमा बेपत्ता भएपछि स्वदेश फर्केका हुन ।
टीकापुर नगरपालिका वडा नं. का वडा अध्यक्ष विकले अहिले कामदारको पारिश्रमिक मात्र उपलब्ध भएको, बाढीमा हराएकाहरुको खोजी कार्य अझैँ जारी रहेकाले सास या लाशको खोजी भइरहेको बताउँदै राहत तथा क्षतिपूर्तिको पक्रिया सरकारले थाल्ने बताएका छन् । वडाध्यक्ष विकले यो विपत्तीको समयमा आफू सम्हालिन र परिवारलाई सम्हाल्न अनुरोध गर्दै स्थानीय सरकार आफ्ना नागरिकको पीडामा साथमा रहेको बताएका छन् ।
बेपत्ता भएका परिवारहरुले अब आफन्तहरुको सास भेटाउने आशा क्रमशः मारिरहेका छन् । सास नपाए लास मात्र भए पनि पाउने प्रतिक्षामा छन् । आफन्त पहिचानका लागि बेपत्ताका परिवारहरुले डिएनए परीक्षणका लागि नमुना दिइसकेका छन् ।









