दिउँसै हाजिर लगाएर शिक्षक टाप : पठनपाठन भद्रगोल

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी ०१ फागुन/
भजनी नगरपालिका भित्रका सामुदायिक बिधालयमा कार्यरत शिक्षकले बिहान् र साझको हाजिर एकपटक लगाउने गरेको पाइएको छ ।
नगरपालिकाले बिधालय अनुगमनका क्रममा शिक्षकले बिहान् र साझको हाजिर एकैपटक लगाएको पाइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टका अनुसार आफुहरु दिउँसो १ बजे बिधालयमा पुग्दा त्यहाँ शिक्षक अपरान्ह ३:३० बजेको हाजिर लगाएर गएको भेटिएको छ । “अहिले बिधालयको अनुगमन गरिरहेका छौँ । शिक्षक उपस्थित छैन तर बिधालय समयमा छुट्टी हुने समयको हाजिर गरेर जानुभएको पाइयो ।” उनले भने, “कतिपय बिधालयहरु हाप छुट्टी भन्दा पछि सञ्चालन नै नहुने गरेको प्रमाणहरु पनि भेटिएका छन् ।
लगातार दुई वर्ष एसईईमा निकै कम्जोर नतिजा दिएको भजनी नगरपालिकामा सामुदायिक बिधालयको अनुगमनका क्रममा निकै बिजोग देखिएको छ । बिद्यार्थी संख्या देखि अन्य भौतिक संरचनामा पनि समस्या देखिएको प्रमुख प्रशासकीय अधिकृत भट्टले जानकारी दिए । “कम्प्युटर ल्याब बिधालयमा हुँंदा ती ल्याब कहिल्यै सञ्चालनमा नआएको देखिएको छ । कम्प्युटरको टेबुलमा धुलोले भरिएको छ ।” उनले भने, “शिक्षक उपस्थिति हेर्दा निकै न्यून छ । बिधालयमा उपस्थिति नभएको शिक्षकले बिदा लिएको पनि देखिँदैन । बिदाको लागि कुनै निवेदन तथा बिधालय प्रशासनलाई जानकारी समेत दिएको छैनन् ।” एकजना शिक्षक २८ दिनदेखि बिदामा बसेको पनि भेटिएको भट्टले बताए ।
बिधालयमा तथ्यांक अनुसारको बिद्यार्थीको उपस्थिति नै छैन । नगरपालिकामा भएको तथ्यांक अनुसार बिद्यार्थीको संख्या फरक परेको छ । कतिपय बिधालयले विद्यार्थी संख्या भन्दा ५/६ जनाको संख्या हाजिरमा फरक परेको पाइएको छ । बिद्यार्थीको दोहोरो हाजिरी पनि अनुगमनमा भेटिएको छ । दिवा खाजामा पनि स्वच्छता गम्भीर प्रश्न उठेको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए । “केही बिधालयले दिवा खाजामा अहिले पनि बन्देज गरिएका खानेकुरा दिएको भेटियो ।” उनले भने, “केहिमा दिवा खाजा पकाउने भान्साकै सरसफाइमा पनि निकै लापरबाही छ ।”
कार्तिक महिनाभित्र सम्पन्न गर्नुपर्ने सामाजिक परिक्षण समेत कतिपय बिधालयले अझै सम्पन्न गर्न सकेका छैनन् । बिधालयलाई दिइएका सेनेटरी प्याड डिस्पोजल मेसिन प्रयोगविहीन देखिएका छन् । बिधालयलाई उपलब्ध भएका स्मार्ट बोर्ड प्रयोगविहीन छन् । यस्ता कैयौं अभाव र चुनौतीका बीच शैक्षिक गतिविधि सञ्चालन भैरहेको भजनीमा गतवर्ष एसईई परिक्षाको नतिजामा तीन बिधालयको नतिजा शून्य रहेको थियो । त्यसभन्दा पहिलेको वर्ष भजनीमा पाँचवटा बिधालय एसईईको नतिजामा शून्य भएका थिए ।
अनुगमन पछि बिधालय शिक्षा सुधारका लागि आवश्यक रणनीतिका साथ अगाडि बढ्ने शिक्षा अधिकृत पंखबहादुर शाहले बताएका छन् । उनले बिधालयमा उपस्थित नभएर हाजिर गर्ने शिक्षक तथा बिना बिदा बिधालयमा उपस्थित नहुने शिक्षकलाई स्पष्टीकरण सोधिने र आवश्यक कारबाही गरिने बताए । “धेरै कमीकमजोरीका बाबजुद अनुगमन पछि प्रयोगविहीन भएका स्रोतको परिचालन बिधालयले गर्न थालेका छन् ।” उनले भने, “केहि सुधार हुने अपेक्षा गर्न सकिन्छ । तर अझै परिणाममा देखिने गरी सुधारका लागि नगरपालिकाले काम गर्छ ।”
उनका अनुसार चालू शैक्षिक सत्रमा माद्यामिक तहसम्मको अध्ययन भैरहेको बिधालयमा इ-हाजिरी जडान गरिने छ् । एसईईमा सकारात्मक नतिजाका लागि कम्जोर बिद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालनको तयारी नगरपालिकाले गरेको छ । त्यतिमात्र नभई शिक्षकको जिम्मेवारी हेरफेर देखि बिधालय तह मिलानसम्मको काम गर्नुपर्ने देखिएको शाहले बताएका छन् । अहिले पनि कतिपय बिधालयमा विषयगत शिक्षकको अभाव रहेको देखिएको छ । बिद्यार्थीलाई बिधालयसम्म पुग्ने वातावरण सिर्जना गर्दै शिक्षकलाई बिद्यार्थी र बिधालय प्रती जिम्मेवार बनाइने शिक्षा अधिकृत शाहको भनाई छ ।
उनका अनुसार माथिल्लो तहमा दरबन्दी नै न्यून हुँदा पनि पठनपाठनमा समस्या हुँदै आएको छ । नगरपालिकामा हाल ११ वटा माद्यामिक बिधालय रहेका छन् । त्यहाँ माध्यमिक तहको शिक्षक दरबन्दी ७ जना मात्रै छन् । दक्ष जनशक्ति अभाव, विद्यार्थीका अभिभावक ज्यालादारी गर्न जिल्ला बाहिर जानुपर्ने स्थितिमा बालबालिकालाई सँगै लिएर जानुपर्ने बाध्यता, सिजनमा माद्यामिक तहमा अध्ययन गर्ने बिद्यार्थीहरु पनि पढाइ बीचमै छोडेर कमाउन जाने जस्ता कारणले शैक्षिक गुणस्तरमा चुनौती थपिँदै गएको शाहले जानकारी दिएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *